Techie IT
२०८३ वैशाख ११, शुक्रबार

पक्राउपछि पहिलो रात नसुतेका गोल्छा, स्वास्थ्य परीक्षणपछि फेरि हिरासतमा


सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका शेखर गोल्छाले पक्राउ परेको पहिलो रात निदाउन नसकेको गुनासो गरेका छन्।

बिहीबार साँझ केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोलीले पक्राउ गरेका गोल्छालाई लाजिम्पाटस्थित सिआईबी हिरासतमा राखिएको थियो। स्वास्थ्यमा कुनै समस्या भए/नभएकोबारे प्रहरीले सोध्दा उनले खासै प्रतिक्रिया नदिए पनि रातभरि नसुतेको बताएका छन्।

प्रहरीको नियमित प्रक्रिया अनुसार शुक्रबार बिहानै उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा स्वास्थ्य परीक्षणका लागि लगिएको थियो। परीक्षणपछि पुनः अनुसन्धानका लागि सिआईबीकै हिरासतमा फर्काइएको छ।

शुक्रबार राति ‘निदाउन नसकेको’ बताएपछि उनको सहजताका लागि एक जना इन्स्पेक्टर खटाइएको थियो। तर, उनीसँग पनि गोल्छाले खुलस्त कुरा नगरेको जनाइएको छ। सिआईबी प्रमुख डा. मनोज केसीले गोल्छाको स्वास्थ्यमा कुनै समस्या देखिए आवश्यक परे वीर अस्पताल वा शिक्षण अस्पतालमा उपचारको व्यवस्था गरिने बताएका छन्। “उहाँले केही भन्नुभएको छैन, तर नसुत्ने समस्या देखिएकाले चिकित्सकसँग परामर्श गर्छौं,” उनले भने।

प्रहरीले मुद्दाको अनुसन्धानका लागि गोल्छालाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउने तयारी गरेको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग को सिफारिसमा सिआईबीले उनलाई पक्राउ गरेको हो। गोल्छाविरुद्धको अनुसन्धान र आवश्यक कानुनी प्रक्रिया भने सोही विभागमार्फत अघि बढाइने जनाइएको छ। 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट