Techie IT
२०८३ जेष्ठ १८, सोमबार

क्रिप्टोकरेन्सी कारोबारमा संलग्न युवक चितवनबाट पक्राउ


चितवनको भरतपुर महानगरपालिका क्षेत्रमा अवैध रूपमा क्रिप्टोकरेन्सी (अभौतिक मुद्रा) को सञ्चय तथा कारोबार गर्दै आएको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनुषाको साविक संग्रामधुकरही गाउँपालिका–७ स्थायी घर भई हाल भरतपुर महानगरपालिका–१० चित्रसेन टोलमा डेरा गरी बस्ने २९ वर्षीय पप्पु कुमार यादव रहेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार यादवले आफ्नो डेरा कोठाबाट ‘बिनान्स’ र ‘बाइबिट’ लगायतका एप्लिकेसन प्रयोग गरी क्रिप्टोकरेन्सीको सञ्चय तथा कारोबार गरिरहेको भन्ने गोप्य सूचना प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको थियो।

सोही सूचनाका आधारमा जेठ १५ गते साँझ करिब ६ः३० बजे प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। कानुनबमोजिम शरीर तथा डेरा कोठाको खानतलासी गर्दा विभिन्न कम्पनीका १७ थान स्मार्टफोन र ३ थान किप्याड मोबाइल फोनसहित क्रिप्टोकरेन्सी कारोबारमा प्रयोग भएका सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार पक्राउ परेका यादवमाथि अभौतिक मुद्रा सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। यसका लागि चितवन जिल्ला अदालतबाट म्याद थप गरी उनलाई हिरासतमा राखिएको छ।

नेपाल राष्ट्र बैंकको प्रचलित व्यवस्था अनुसार नेपालमा क्रिप्टोकरेन्सीको कारोबार, सञ्चय तथा त्यससम्बन्धी लगानी गैरकानुनी मानिन्छ। प्रहरीले यस्ता गतिविधिविरुद्ध निगरानी र कारबाहीलाई थप कडाइ गर्ने जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट