भेप सुन तस्करी प्रकरण: पूर्वसभामुख महराको विशेष अदालतमा बयान जारी
विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी र भ्रष्टाचार मुद्दामा प्रतिनिधि सभाका पूर्वसभामुख कृष्णबहादुर महरा विशेष अदालतमा हाजिर भएका छन्। अदालतबाट जारी भएको म्याद बुझेर महरा सोमबार (जेठ १८) बिहान कार्यालय खुल्नासाथ अदालतमा उपस्थित भएका हुन्।
यतिबेला विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य विदुर कोइरालाको इजलासमा महराको बयान भइरहेको छ। इजलासमा महरासँग सवालजवाफ चलिरहेको र बयान सकिएलगत्तै आजै थुनछेक बहस गर्ने अदालतको तयारी छ।
दुबईबाट फ्लाई दुबईको उडान (एफजेड ०५८७) मार्फत नेपाल आएका चिनियाँ नागरिक ली हाङ सोङले दुईवटा सुटकेसभित्र ७३ बट्टामा प्याक गरिएका ७३० थान भेपभित्र सुन लुकाएर ल्याएका थिए। उक्त सुन तस्करी प्रकरणमा ७ करोड ७८ लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको जिकिरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसभामुख महरा, भन्सारका कर्मचारी र एजेन्टविरुद्ध मुद्दा दायर गरेको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस