८ दिनदेखि फरार वीरगन्ज मेयर राजेशमान सिंह पक्राउ
वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन्। जिल्ला अदालत पर्साबाट पक्राउ पुर्जी जारी भएको आठ दिनपछि पर्सा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख सुदीपराज पाठकका अनुसार विशेष सूचनाका आधारमा सञ्चालन गरिएको अपरेसनका क्रममा मेयर सिंहलाई पर्साको ठोरी क्षेत्रमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको हो।
प्रहरी प्रमुख पाठकले पक्राउ पुर्जी जारी भएपछि मेयर सिंह एक दिन अदालतमा उपस्थित भए पनि त्यसपछि सम्पर्कविहीन बनेको बताए। “उनी फरार रहेकाले विशेष टोली परिचालन गरिएको थियो। सोही टोलीले उनलाई नियन्त्रणमा लिन सफल भएको हो,” उनले भने।
गत १२ गते जिल्ला अदालत पर्साले लिखत सम्बन्धी कसुरको अभियोगमा मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। स्थानीय लियाकत अलीको जाहेरीका आधारमा अदालतले मेयर सिंहसहित अन्य दुई जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको जनाएको छ।
पक्राउ परेका मेयर सिंहलाई हाल जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ। घटनाबारे थप अनुसन्धान तथा सोधपुछ जारी रहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस