Techie IT
२०८३ जेष्ठ २७, बुधबार

जेनजी आन्दोलनका क्रममा बाल सुधार गृहबाट फरार युवक पुनः चोरीमा पक्राउ


जेनजी आन्दोलनका क्रममा भक्तपुरस्थित बाल सुधार गृहबाट फरार भएका १९ वर्षीय याकुव नेपाली धादिङमा भएको चोरी घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका छन्।

यसअघि दुई वटा चोरी मुद्दामा सजाय पाइसकेका नेपालीलाई प्रहरीले चोरीका सामानसहित नियन्त्रणमा लिई अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार नीलकण्ठ नगरपालिका–११ सिम्ले ज्यानमरुङका १९ वर्षीय याकुव नेपालीलाई नेत्रावती डबजोङ गाउँपालिका–४ का मिनबहादुर तामाङको घरमा चोरी गरेको आरोपमा पक्राउ गरिएको हो।

प्रहरीका अनुसार जेठ २५ गते दिउँसो करिब ४:३० बजे तामाङको घरको ताला फोडी भित्र प्रवेश गरेर दराजमा राखिएको एक तोला सुनको नौगेडी माला, करिब ३५.३ ग्राम तौलको सुनको माइली तिलहरी तथा १० हजार रुपैयाँ नगद चोरी भएको सूचना प्राप्त भएपछि अनुसन्धान सुरु गरिएको थियो।

स्थानीयवासीबाट प्राप्त सूचनाका आधारमा खोजतलास तथा अनुसन्धान गर्दा उक्त घटनामा नेपालीको संलग्नता खुलेको प्रहरीले जनाएको छ। प्रहरीले नेपालीको डेरा तथा शरीर खानतलासी गर्दा चोरी गरिएको सुनजस्तो देखिने पहेँलो धातुको नौगेडी माला एक थान, औँठी तीन थान, एक थान मोबाइल फोन र ४ हजार १०० रुपैयाँ नगद बरामद गरेको जनाएको छ।

प्रहरीका अनुसार नेपाली यसअघि बागलुङ नगरपालिका–९ स्थित एक घरबाट सुनका गहना चोरी गरेको मुद्दामा दुई वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको सजाय पाइसकेका थिए। साथै, २०८१ असोज १५ गते धादिङको सिद्धलेक गाउँपालिका–५ मा भएको अर्को चोरी घटनामा पनि उनी दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको सजाय पाएका व्यक्ति हुन्।

दोस्रो मुद्दाको सजाय भुक्तान गरिरहेका बेला भक्तपुर बाल सुधार गृहमा रहेका नेपाली जेनजी आन्दोलनका क्रममा त्यहाँबाट फरार भएका थिए।

उनीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २४३ अन्तर्गत चोरी कसुरमा मुद्दा दर्ता गरिएको छ। धादिङ जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट