Techie IT
२०८३ मंसिर १४, आइतबार

अनुसन्धानका गोप्य सूचना चुहाए पूर्व तथा बहालवाला प्रहरीमाथि कारबाही हुने


अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना तथा विवरण चुहावटमा पूर्व तथा बहालवाला प्रहरी कर्मचारीको संलग्नता, प्रोत्साहन वा सहजीकरण भएको पाइएमा विभागीय तथा कानुनी कारबाही गरिने नेपाल प्रहरीले चेतावनी दिएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्ता अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिहरूमाथि प्रचलित कानुन तथा सङ्गठनको नीतिगत व्यवस्थाबमोजिम छानबिन गरी कारबाही गरिने जनाएको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक (डीआईजी) अबि नारायण काफ्लेद्वारा जारी विज्ञप्तिमा अनुसन्धानका गोप्य विवरण चुहाउने वा त्यस कार्यलाई प्रोत्साहन, सहयोग तथा सहजीकरण गर्ने जोसुकैलाई पनि कानुनी दायरामा ल्याइने स्पष्ट पारिएको छ ।

प्रहरीले फौजदारी अपराधको अनुसन्धानका क्रममा सङ्कलन गरिएका गोप्य सूचना, लिखत प्रमाण तथा विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबिना अनधिकृत व्यक्ति वा सञ्चारमाध्यमलाई उपलब्ध गराउने र सार्वजनिक गर्ने कार्य गैरकानुनी तथा प्रहरी आचरणविपरीत रहेको उल्लेख गरेको छ । यस्ता गतिविधिले अनुसन्धानको दायरामा रहेका शङ्कित व्यक्तिहरूको वैयक्तिक गोपनीयता भङ्ग हुनुका साथै अनुसन्धानको निष्पक्षता, संवेदनशीलता र सङ्गठनको गरिमामा समेत आँच पुग्ने प्रहरीको ठहर छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार गोप्य सूचना चुहावट गर्नेमाथि प्रहरी नियमावली, २०७१ को नियम ७९ (आचरणसम्बन्धी व्यवस्था) को उल्लङ्घन तथा नियम १०९ र ११३ बमोजिम विभागीय कारबाही हुनेछ । यसका साथै मुलुकी अपराध संहिता, २०७४ को दफा ९२ को उपदफा (३), (४) र (५) मा रहेको गोप्य सूचना तथा अभिलेखको अनधिकृत खुलासा र दुरुत्साहनसम्बन्धी कानुनी व्यवस्थाअनुसार समेत कारबाही अघि बढाइने विज्ञप्तिमा जनाइएको छ ।

प्रहरीले बहालवाला तथा सेवानिवृत्त सम्पूर्ण प्रहरी कर्मचारीलाई अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखत तथा विद्युतीय अभिलेख अनधिकृत रूपमा कसैलाई उपलब्ध नगराउन कडा निर्देशन दिएको छ । पदीय मर्यादा, व्यावसायिक आचरण, अनुशासन र साङ्गठनिक जिम्मेवारीप्रति सचेत रहँदै यस्ता गतिविधिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न नहुन र अरूलाई पनि संलग्न नगराउन प्रहरी प्रधान कार्यालयले सबैमा आग्रह गरेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट