नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान मल्ल यूएईको ब्याटिङ कन्सल्टेन्टमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) को ब्याटिङ कन्सल्टेन्ट नियुक्त भएका छन् । इमिरेट्स क्रिकेट बोर्डले आइतबार सार्वजनिक गरेको राष्ट्रिय टोलीको प्रशिक्षण तथा व्यवस्थापन समूह (सपोर्टिङ स्टाफ) मा मल्ललाई ब्याटिङ कन्सल्टेन्टका रूपमा समावेश गरिएको हो ।
नेपालमा आयोजना हुन लागेको आईसीसी विश्वकप छनोटको प्लेअफ प्रतियोगिताका लागि यूएईले १५ सदस्यीय टोलीसँगै अफिसियलहरूको नाम घोषणा गरेको हो ।
राहुल चोपडाको कप्तानीमा घोषित यूएईको टोलीमा आयान खान, अदिब उस्मानी, अक्षदीप नाथ, अलि नासिर, अवैस अलि शाह, बसिल हमिद, ध्रुव पराशर, हरप्रित सिंह भाटिया, खुजैमा बिन तनवीर, जुनैद सिद्दिकी, मुहम्मद रोहिद खान, मुहम्मद सहदाद, तनिष सुरी र वृत्य अरविन्द अटाएका छन् ।
यसैगरी, टोलीको अफिसियल तथा प्रशिक्षण समूहमा ब्याटिङ कन्सल्टेन्ट मल्लसँगै मुख्य प्रशिक्षकमा अहमद रजा, व्यवस्थापकमा अमजद इज्जी, फिल्डिङ प्रशिक्षकमा स्ट्यान्ली चिओजा, स्ट्रेन्थ एन्ड कन्डिसनिङ प्रशिक्षकमा अजहरुद्दिन कुरैशी, फिजियोथेरापिस्टमा मनिष परदेशी र भिडियो विश्लेषकमा म्याथ्यु फुनेल रहेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस