६५ वर्षीय वृद्धको हत्या आरोपमा छिमेकी पक्राउ
गजुरी गाउँपालिका–८, कटुन्जेका ६५ वर्षीय हरिबहादुर ढुंगानाको हत्या गरेको आरोपमा प्रहरीले उनकै छिमेकी ३८ वर्षीय सूर्यबहादुर थिङलाई पक्राउ गरेको छ ।
गत मंसिर १२ गते आफ्नै घरको कोठामा ढुंगानाको शव शंकास्पद अवस्थामा फेला परेको थियो । प्रहरीका अनुसार मृतकको टाउकोलगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको तथा दाहिने हातको नाडीको हड्डीसमेत भाँचिएको अवस्थामा शव भेटिएको थियो ।
घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा आरोपित थिङले मंसिर ११ गते राति ढुंगानालाई निर्घात कुटपिट गरी हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
पक्राउ परेका थिङलाई आइतबार जिल्ला अदालत धादिङमा पेस गरिएकोमा अदालतले थप अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरेको छ । पक्राउ परेका थिङ यसअघि पनि सार्वजनिक अपराध तथा हातहतियारसम्बन्धी कसुरमा प्रहरीको अनुसन्धान दायरामा परिसकेको व्यक्ति रहेको खुलेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस