Techie IT
२०८२ भाद्र ३, मंगलबार

वीरगञ्ज नाका हुँदै भारत प्रवेश गर्न खोजेका इराकी नागरिक पक्राउ


वीरगञ्ज–रक्सौल सीमाबाट भारत प्रवेश गर्न खोज्ने एक इराकी नागरिकलाई भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्। इराकको बग्दाद निवासी ४७ वर्षीय फौजी हमिद अल बायातीलाई भारतीय सीमा सुरक्षा बलले शंकास्पद रूपमा पक्राउ गरेको हो।

भारतीय सहर रक्सौलतर्फ प्रवेश गर्ने क्रममा रक्सौलको हरैयास्थित प्रहरी चौकीका इञ्चार्ज किशन कुमार पासवानले नियमित चेकजाँचका क्रममा उनलाई पक्राउ गरेका हुन्। टाइम्स अफ इण्डियाका अनुसार, प्रारम्भिक सोधपुछपछि उनलाई मोतिहारी केन्द्रीय कारागारमा पठाइएको छ।

पूर्वी चम्पारणका प्रहरी प्रमुख स्वर्ण प्रभातका अनुसार, बायातीसँग भारत प्रवेशका लागि आवश्यक कुनै वैध कागजात थिएन । "उनी नेपालबाट एक्लै यात्रा गरेर भारत प्रवेश गर्न खोजिरहेका थिए, उनमा कुनै डर वा आक्रोश देखिएको थिएन," एक सुरक्षाकर्मीले बताए। हाल उनको भारत प्रवेश गर्ने उद्देश्यबारे केन्द्रीय सुरक्षा निकायहरूले थप अनुसन्धान गरिरहेका छन् ।

बायातीले प्रारम्भिक बयानमा आफू एक मेकानिकल इञ्जिनियर भएको दाबी गरेका छन् । साथै, उनी यसअघि वैध भिसासहित दुई पटक भारत प्रवेश गरिसकेको बताएका छन् ।

सन् २०२५ को अप्रिल २४ यतादेखि मात्रै भारतको सशस्त्र सीमा बल (SSB) र अध्यागमन निकायहरूले नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने अमेरिका, चीन, क्यानडा, दक्षिण कोरिया, इराकका नागरिकहरू र खालिस्तानी अभियानसँग जोडिएका व्यक्तिहरू गरी ९ जनालाई नियन्त्रणमा लिइसकेको तथ्य पनि सार्वजनिक भएको छ ।

यस घटनाले नेपाल–भारत सीमाबाट विदेशी नागरिकको गतिविधि र त्यससँग सम्बन्धित सुरक्षामा थप चासोको विषय उठाएको छ । सुरक्षा निकायहरूले नेपाल हुँदै भारतमा प्रवेश गर्न खोज्ने विदेशी नागरिकहरूबारे निगरानी कडा पारिएको जनाइएको छ ।

 

 

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट