Techie IT
२०८२ असार १३, शुक्रबार

भिजिट भिसा प्रकरण

भिजिट भिसा प्रकरणपछि अध्यागमनमा कडाइ, एनओसी बिना विदेश जान रोक


भिजिट भिसाको नाममा विदेशी नागरिकलाई सेटिङमा विदेश पठाइएको खुलासा भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन प्रणालीमा कडाइ गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेका बेला ती घटना बाहिरिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यसचिव एकनारायण अर्यालको नेतृत्वमा बसेको बैठकले अध्यागमन प्रक्रियामा थप कडाइ गर्ने निर्णय गरेको हो ।

अबदेखि विदेशी नागरिकहरूलाई "नो अब्जेक्सन लेटर" (एनओसी) विना विदेश जान दिइने छैन, र सबै कागजातहरू डिजिटल रूपमा स्क्यान गरेर सुरक्षित राख्ने व्यवस्था अनिवार्य गरिएको छ ।

अख्तियारको छानबिनमा रहेका सहसचिव तीर्थराज भट्टराई विमानस्थल अध्यागमन प्रमुख रहँदा चार महिनामा २१२ जना भारतीय नागरिक बिना एनओसी विदेश गएको खुलेको थियो । तीमध्ये केही नक्कली एनओसी प्रयोग गरी बाहिरिएका थिए । यस विषयमा काठमाडौंस्थित भारतीय दूतावासले चासो देखाएपछि अहिले दैनिकजसो भारतीय नागरिकहरूलाई अध्यागमनबाट फिर्ता गरिँदैछ ।

नेपाली नागरिकको हकमा पनि अब विदेश जानुअघि भिसा, होटल बुकिङ लगायतका कागजातहरूको डिजिटल प्रतिलिपि अनिवार्य गरिएको छ । अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले छानबिनका क्रममा कागजात छुट्याउन समस्या हुने भएकाले स्क्यान कपी राख्ने निर्णय गरिएको जानकारी दिए ।

प्रधानमन्त्री कार्यालयमा बसेको बैठकमा गृह मन्त्रालय, अध्यागमन विभाग, वैदेशिक रोजगार विभाग, राहदानी विभाग, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग र सूचना प्रविधि मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति थियो ।

यस प्रकरणमा छानबिन गर्न सरकारले पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा उच्चस्तरीय समिति गठन गरे पनि सो समितिको निष्पक्षता र प्रभावकारिता बारे विपक्षी दलहरूले प्रश्न उठाइरहेका छन् ।

सरकारले अध्यागमन प्रणालीलाई पारदर्शी, सुरक्षित र जवाफदेही बनाउनका लागि डिजिटल अभिलेख राख्ने, कागजातको प्रमाणीकरण कडाइ गर्ने र सेटिङमा हुने अवैध कार्यविरुद्ध कडा कदम चाल्ने प्रतिबद्धता जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट