Techie IT
२०८२ श्रावण १, बिहीबार

नेपाल नजिकै छांगुर बाबाको धर्म परिवर्तन अभियान, करोडौंको अवैध कारोबार खुलासा


भारतको उत्तर प्रदेशस्थित बलरामपुर जिल्लाबाट पक्राउ परेका विवादास्पद व्यक्ति छांगुर बाबासम्बन्धी नयाँ खुलासा हुँदै गइरहेका छन् । भारतको आतंकवाद विरोधी दस्ता (ATS) को पछिल्लो अनुसन्धानले छांगुर बाबाले नेपाल सीमा आसपासको क्षेत्रमा इस्लामिक कट्टरता फैलाउने र संगठित रूपमा धर्म परिवर्तन गराउने योजना बनाएको देखाएको छ।

ATS को रिपोर्टअनुसार छांगुर बाबाले नेपाल सीमासँग जोडिएका ४६ गाउँका युवाहरूलाई लक्ष्य बनाएर धर्म परिवर्तनको व्यापक अभियान सञ्चालन गर्न खोजेका थिए। यसका लागि उनले झन्डै १० करोड भारतीय रुपैयाँ (करिब १६ करोड नेपाली रुपैयाँ) खर्च गर्ने योजना बनाएका थिए।

धार्मिक जलसा, प्रवचन र प्रचार सामाग्रीमार्फत युवालाई प्रभावित पार्ने प्रयास भइरहेको थियो। कतिपय अवस्थामा आर्थिक प्रलोभन, पर्चा बाँड्ने कार्य र मानसिकता अध्ययनका नाममा छलकपटपूर्ण गतिविधि भइरहेको पाइएको छ।

सन् २०१५ सम्म सामान्य जीवनशैलीमा देखिएका छांगुर बाबा सन् २०२० पछि विदेशी रकमको भरमा आर्थिक रूपमा सशक्त बनेको एटीएसको अनुसन्धानले देखाएको छ। अब उनी महंगा गाडी चढ्छन्, उनका सहयोगीहरूको सम्पत्ति पनि आश्चर्यजनक रूपमा बढेको छ।

नेपालमार्फत अरब मुलुकहरूबाट रकम भित्र्याइएको आशंका छ। काठमाडौं, नवलपरासी, रुपन्देही र बाँकेका १०० भन्दा बढी बैंक खाताबाट रकम भारतीय खातामा स्थानान्तरण गरिएको भारतीय मिडियाले उल्लेख गरेका छन्।

छांगुर बाबाले भारतको उतरौला क्षेत्रमा ताल, चरनभूमि, खलिहानजस्ता सार्वजनिक जग्गा कब्जा गर्ने प्रयाससमेत गरेका थिए। सरकारी कर्मचारीको मिलेमतोमा एउटा तालको जमिन आफ्नो नाममा पास गराई १ करोड भारुमा बिक्री गरेको पाइएको छ।

त्यस्तै, उनले बनाएको ५ करोड भारु मूल्यको भव्य हवेलीमा निजी पावर स्टेशन, विदेशी मार्बल र उच्चस्तरीय सुरक्षा प्रणाली समेत रहेको बताइएको छ। उक्त हवेली उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको निर्देशनमा हालै भत्काइएको छ।

छांगुर बाबाविरुद्ध जबरजस्ती, डर–धम्की र आर्थिक प्रलोभनमार्फत धर्म परिवर्तन गराएको गम्भीर आरोप लागेको छ । प्रारम्भिक अनुसन्धानअनुसार १५०० भन्दा बढी महिलासहित हजारौं व्यक्तिहरूलाई धर्म परिवर्तन गराइएको आशंका गरिएको छ। धर्म परिवर्तन गराउन जातीय ‘रेट कार्ड’ प्रयोग भएको तथ्यसमेत बाहिर आएको छ।

ब्राह्मण/क्षत्रिय जाति: प्रति व्यक्ति १५–१६ लाख भारु

ओबीसी वर्ग: १०–१२ लाख भारु

दलित र अन्य: ८–१० लाख भारु

ATS का अनुसार छांगुरले नेपालभित्र पनि प्रभाव विस्तार गर्ने प्रयास गरिरहेका थिए । नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै आर्थिक रूपमा कमजोर युवाहरूलाई निशाना बनाउने योजना थियो । सीमावर्ती क्षेत्रका सट्टावाला र एजेन्टमार्फत रकम रूपान्तरण गरेर धर्म परिवर्तन अभियानमा प्रयोग गरिएको पाइएको छ ।

छांगुर बाबाविरुद्ध सन् २०२४ को अगस्टमा एफआईआर दर्ता भएको भए पनि अनुसन्धानमा ढिलाइ भएको थियो। तर, सन् २०२५ को अप्रिलमा उनका छोरा र सहयोगी नवीन रोहरा पक्राउ परेपछि नेटवर्क खलबलिन थालेको हो।

हाल उनी एटीएसको रिमाण्डमा छन् र थप दुई दिनसम्म सोधपुछ जारी रहनेछ। एटीएस र प्रवर्तन निदेशालयले सयौं करोड भारुको हवाला कारोबार तथा मनी–लन्डरिङका सम्बन्धमा अनुसन्धान तीव्र पारेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट