फिल्म प्रमोशनमा ‘बार्गेनिङ’ गरेको आरोपमा प्रकाश सुवेदी विवादमा

‘जतपट’ कार्यक्रम सञ्चालक तथा फिल्मी पत्रकार प्रकाश सुवेदीमाथि रकम लिएर मात्र फिल्मको प्रमोशन गर्ने र रकम नदिए निर्माण टीम तथा लगानीकर्ताको चरित्र हत्या गर्ने गम्भीर आरोप लागेको छ।
नेपाली फिल्म पूर्णबहादुरको सारङ्गी का निर्माता विनोद पौडेलले सामाजिक सञ्जालमार्फत सुवेदीमाथि बार्गेनिङ गरेको आरोप सार्वजनिक गरेका हुन्।
पौडेलका अनुसार, आफ्नो नयाँ फिल्म अभिमन्यु को मिडिया कोअर्डिनेटरलाई रजतपट टिमले प्रमोशनको लागि रकम छुट्याएको छ कि छैन भनेर सोधिएको र रकम नदिने भनिएपछि ‘दुश्मनी’ साँधेर कार्यक्रमको एपिसोडमा आफूमाथि नकारात्मक रिपोर्ट प्रसारण गरिएको दाबी गरेका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, “धेरै जना यस्तो विषय आउँदा डराएर चुप लाग्छन्, किनकि रिलिज भएपछि रजतपट टिमले नकारात्मक रिपोर्ट दिने डर हुन्छ। तर मलाई यसको मतलब छैन। मैले देखेको छु—उही निर्माता वा कलाकारको पैसा लिएर उसैको खेदो खन्ने काम भएको।”
पौडेलले थपे, “पूर्णबहादुरको सारङ्गी रजतपटमा पैसा नदिँदा पनि ब्लकबस्टर भएको थियो। रजतपटलाई पैसा दिदैमा हिट हुने हो र? मैले मेरो फिल्मको मार्केटिङ आफ्नो हिसाबले गरेँ, अरुको पैसा धम्क्याएर लिनु वा अनिवार्य रुपमा कार्यक्रममार्फत प्रमोशन गर्नु अपराध होइन।”
यस विषयमा प्रकाश सुवेदीको कुनै औपचारिक प्रतिक्रिया आएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस