काठमाडौंमा सार्वजनिक स्थलमा धुम्रपान गर्नेहरूलाई जरिवाना

काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलमा धुम्रपान गर्नेहरूमाथि जरिवाना उठाउन थालेको छ।
नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार आइतबारदेखि सुरु गरिएको कारबाहीमा हालसम्म १७ जना पक्राउ परेका छन्। ती प्रत्येक व्यक्तिलाई ५ सय रुपैयाँका दरले जरिवाना तिराइएको छ। यसरी आइतबारमै ८ हजार ५०० रुपैयाँ जरिवाना उठाइएको उनले जानकारी दिए।
पाण्डेले भने, "साउन मसान्तसम्म हामीले जनचेतनामूलक कार्यक्रम चलायौं। तर हिजोदेखि भने जरिवाना तिराउन थालेका छौं।"
उनका अनुसार, सार्वजनिक स्थानमा धुम्रपान गरेको भेटिने व्यक्तिलाई तत्काल जरिवाना तिराउने व्यवस्था मिलाइएको छ। "नगर प्रहरीसँग क्युआर कोड प्रणाली छ। जरिवानामा परेका व्यक्तिले स्क्यान गरेर तुरुन्तै तिर्न सक्छन्। अनलाइन बैंकिङ सुविधा नचल्नेको हकमा भने नगद लिई नगर प्रहरीले नै तिरेको रकम खातामा जम्मा गरिदिन्छ," उनले स्पष्ट पारे।
महानगरका सहप्रवक्ता ध्रुव काफ्लेले सूर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८ को कार्यान्वयन सुरु गरिएको बताए। उनले भने, "ऐनमा नै सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध गरिएको छ। त्यही प्रावधानलाई कार्यान्वयन मात्र गरेका हौं। सार्वजनिक स्थलमा धुम्रपान गर्दा अरू व्यक्तिलाई, विशेष गरी बालबालिकालाई असर पर्ने भएकाले यो कदम चालिएको हो।"
काफ्लेले सुर्तीजन्य पदार्थ सेवन गर्नेले नियमको पालना गर्नुपर्नेमा जोड दिए। उनका शब्दमा, "हामीले खानै पाइँदैन भनेका होइनौं, तर तोकिएको ठाउँमा मात्र खानुपर्छ। सार्वजनिक स्थानमा नखानू भन्ने नियम लागू गर्न खोजेका हौं। सुरुमा सम्झाउने बुझाउने गरेका थियौं, अहिले जरिवाना लागू गरेका हौं।"
तपाईको प्रतिक्रिया दिनुहोस