सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना भत्काइयो

ललितपुर महानगरपालिकाले लगनखेलस्थित सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका भवन भत्काएको छ। यो कदम ऐतिहासिक महत्वको न्हु पोखरी संरक्षण र पुनःनिर्माणका लागि बनाइएको डिपिआरअनुसार गरिएको हो।
महानगर प्रमुख चिरिबाबु महर्जनका अनुसार, लगनखेलमा रहेको बुद्धि विकास मण्डल र क्षयरोग निवारण संस्था ललितपुर कार्यसमितिको दुई भवनमा डोजर लगाएर भत्काइएको छ।
यसअघि महानगरले सोही क्षेत्रमा रहेको ५ नम्बर वडा कार्यालय भवन र लगनखेलसम्मका पसल कवल पनि भत्काएको थियो। भवन भत्काउने निर्णयविरुद्ध बुद्धि विकास मण्डल र क्षयरोग निवारण संस्था उच्च अदालत पुगे पनि, अदालतले स्टे अर्डर नदिएकाले महानगरले भवन खाली गर्न सूचना जारी गरेको थियो। ३५ दिने अवधी सकिएपछि कार्यालय समयमा उक्त भवन भत्काइएको महर्जनले बताए।
महानगरपालिकाले सार्वजनिक जग्गा र ऐतिहासिक पोखरीहरूको संरक्षण गर्ने नीति अनुसार न्हु पोखरीको जीर्णोद्धार तथा पुनःनिर्माणका लागि तयार पारिएको विस्तृत परियोजना प्रतिवेदन स्वीकृत भइसकेको महर्जनले जानकारी दिए।
तपाईको प्रतिक्रिया दिनुहोस