Techie IT
२०८२ असोज २१, मंगलबार

शुक्लाफाँटाको धार्मिक क्षेत्र मुडकामा विद्युतीकरण कार्य तीव्र


कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ स्थित धार्मिक एवं पर्यटकीय क्षेत्र मुडका (मणिका) मा विद्युतीकरणको काम तीव्र गतिमा अगाडि बढाइएको छ। नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले ठेक्का प्रक्रियामार्फत कार्य अघि बढाइरहेको हो।

वितरण केन्द्र प्रमुख चुटुनकुमार श्रीवास्तवका अनुसार पोल गाड्ने, मजदुरको ज्याला भुक्तानीलगायत कार्य वितरण केन्द्रले गर्नेछ भने पोल, तार, ट्रान्सफर्मरलगायत आवश्यक सामग्री खरिद गर्ने जिम्मेवारी प्राधिकरणको केन्द्रीय कार्यालयले लिएको छ। यसका लागि करिब ६५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

विद्युतीकरणका लागि वितरण केन्द्रले कलौनी निर्माण सेवासँग ठेक्का सम्झौता गरेको छ। सम्झौता अनुसार पोल गाड्ने, तार तान्ने, इन्सुलेटर जडान गर्ने, ट्रान्सफर्मर राख्ने र विद्युत् सञ्चालनमा ल्याउने काम सम्पन्न गरिनेछ। श्रीवास्तवका अनुसार हाल आवश्यक सामग्री ढुवानी भइसकेको छ र पोल गाड्ने काम तीव्र गतिमा भइरहेको छ। धार्मिक क्षेत्र मुडकादेखि धारापानी गाउँसम्म करिब पाँच किलोमिटर क्षेत्रमा विद्युत् पुर्‍याउने लक्ष्य राखिएको छ। यसका लागि एक सय ८२ वटा पोल जडान गरिनेछ। सम्झौताअनुसार ९० दिनभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको र तिहारअघि नै त्यहाँ बिजुली पुर्‍याउने तयारी भइरहेको उनले बताए।

विद्युतीकरणको काम अघि बढेसँगै स्थानीय बासिन्दा र भक्तजनमा उत्साह देखिएको छ। वडा नं ९ का अध्यक्ष रमेशबहादुर ऐरले भने, “धार्मिक क्षेत्रमा विद्युत् अभावका कारण भक्तजनले सास्ती खेप्दै आएका थिए, अब त्यो समस्या अन्त्य हुने चरणमा पुगेको छ।” उनका अनुसार धारापानीमा विसं २०२८ सालदेखि बस्ती बस्दासमेत हालसम्म विद्युत् सेवा पुगेको थिएन। करिब ३५ परिवार बसोबास गर्दै आएको उक्त बस्तीले लामो समयदेखि टुकीको भरमा रात काट्दै आएको हो।

त्यस्तै स्थानीय सायमले धामीले भने, “अब टुकीको उज्यालोमा बिताउने रात अन्त्य हुँदैछ भन्ने समाचारले हामी निकै खुसी भएका छौँ। विद्युत् नहुँदा मोबाइल चार्ज गर्न मात्र तीन किलोमिटर टाढा गाउँ जानुपर्थ्यो। अहिले पोल गाड्ने काम सुरु भएकाले छिट्टै बत्ती बाल्न पाउनेमा हामी आशावादी भएका छौँ।”

यसै कार्यक्रमअन्तर्गत शुक्लाफाँटाको मुडका मात्र नभई भीमदत्त नगरपालिकाको खल्लामुसेट्टि क्षेत्रमा समेत करिब ५५ घरधुरीलाई विद्युत् सेवा विस्तार गरिएको वितरण केन्द्रले जनाएको छ। त्यहाँ अढाई किलोमिटर क्षेत्रमा पोल गाडेर तार तान्ने र दुई वटा ट्रान्सफर्मर जडान गरी विद्युत् सञ्चालनमा ल्याइएको हो।

श्रीवास्तवका अनुसार पुल विद्युतीकरण कार्यक्रममार्फत दोधारा–चाँदनी, बेदकोट नगरपालिका र कैलालीको गोदावरी नगरपालिका क्षेत्रमा पनि विद्युत् विस्तार कार्य पूरा गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट