अपिहिमाल गाउँपालिका देशभरका स्थानीय तहमध्ये पर्यटन विकासमा उत्कृष्ट घोषित
 
                                                        दार्चुलाको अपिहिमाल गाउँपालिका लगातार विभिन्न क्षेत्रमा अग्रस्थानमा रहँदै आएको छ। यस वर्ष नेपाल सरकारले अपिहिमाललाई देशभरका स्थानीय तहमध्ये पर्यटन विकासमा उत्कृष्ट गाउँपालिकाको रूपमा सम्मान गरेको छ। नेकपा माओवादी केन्द्रका युवा नेता भगत सिंह ठेकेरे बोहरा निर्वाचित भएदेखिनै पालिकाले विभिन्न नमुना कामहरु गर्दै आएको छ ।
विश्व पर्यटन दिवस (सेप्टेम्बर २७) का अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति, संस्था र निकायहरूलाई सम्मान गर्ने क्रममा अपिहिमाल गाउँपालिकालाई स्थानीय सरकारतर्फबाट उत्कृष्ट कार्यका लागि सम्मान प्रदान गरिएको हो।
अपिहिमाल गाउँपालिकाले आफ्ना ५ वर्षे आवधिक योजना, वार्षिक नीति तथा कार्यक्रम, र १० वर्षे पर्यटन रणनीति योजनाअनुसार काम गर्दै छोटो अवधिमै सुदूरपश्चिमकै प्रमुख पर्यटन गन्तव्यका रूपमा पहिचान बनाउन सफल भएको छ।
गाउँपालिकाले स्थानीय, प्रदेश र संघीय सरकारका निकायहरूसँग सहकार्य गर्दै मात्र तीन वर्षभित्र पर्यटन पूर्वाधार र प्रवर्द्धनमा उल्लेखनीय प्रगति हासिल गरेको हो ।
यो सफलताका लागि गाउँपालिका अध्यक्ष भगत सिंह ठेकेरे बोहराले पर्यटन विकासमा सहकार्य र समर्थन गर्ने नेपाल पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, UNDP (STLRP र STP परियोजना), सुदूरपश्चिम प्रदेश पर्यटन इकाई, NATTA सुदूरपश्चिम, TAAN, NMA, HAAN, साथै पर्यटन पत्रकार र सञ्चारगृहहरू प्रति हार्दिक आभार व्यक्त गरेका छन् ।
गाउँपालिकाले धन्यवाद दिँदै जनप्रतिनिधि, कर्मचारी, स्थानीय बासिन्दा, होमस्टे सञ्चालक, होटल व्यवसायी, पर्यटन सद्भावना दूत हिमालय भट्ट, र काठमाडौंका पर्यटन व्यवसायी मित्रहरूलाई समेत विशेष आभार प्रकट गरेको छ।
अपिहिमाल गाउँपालिकाले हालसम्म सुदूरपश्चिमको उच्च हिमाली पर्यटन क्षेत्र विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ। यसले ट्रेकिङ र हिमाल आरोहण पर्यटनको सुरुवात, कृषि–पर्यटन प्रवर्द्धन, र स्थानीय उत्पादन बजार विस्तारमार्फत रोजगारी सिर्जनाजस्ता उपलब्धि हासिल गरेको छ।
गाउँपालिका अध्यक्षका अनुसार अब अपि हिमालदेखि सैपाल हिमालसम्मको पर्यटन सर्किट विकासको योजना अघि बढाइने भएको छ । पर्यटनका माध्यमबाट शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा पनि प्रत्यक्ष प्रभाव देखिन थालेको उनले बताए ।
आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले गाउँपालिका अध्यक्ष लाई मन्त्रालयमै बोलाएर सम्मानपत्र हस्तान्तरण गरेका छन् ।
अपिहिमाल गाउँपालिकाले २०८० असोज १० (सेप्टेम्बर २७, २०२३) का दिन सुदूरपश्चिम प्रदेशका पर्यटन मन्त्री रमेश धामीबाट अपिहिमाल बेसक्याम्पमा पर्यटन वर्ष उद्घाटन गरेको थियो। ठीक दुई वर्षपछि, सेप्टेम्बर २७ कै दिन विश्व पर्यटन दिवसको अवसरमा अपिहिमाल गाउँपालिका सम्मानित भएको हो।
सम्मान पत्र-

#आपिहिमालगाउँपालिका
#ApihimalGaupalika




 
    


 
     
             
             
             
             
            



तपाईको प्रतिक्रिया दिनुहोस