Techie IT
२०८२ पौष ९, बुधबार

विदेश त्यागेर स्वदेशमै उद्यम: गहुँतबाट जैविक विषादी उत्पादन गर्दै म्याग्दीका भूपेन्द्र


म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट जैविक विषादी उत्पादन गरी खेतीबालीमा रोग तथा कीरा नियन्त्रणका लागि प्रयोग गर्दै आएका छन्।

शर्माले १६ रोपनी क्षेत्रफलमा जैविक विधिबाट व्यावसायिक रूपमा सुन्तला, कागती र तरकारी खेती गर्दै आएका हुन्। गाईभैँसीको गहुँतलाई भकारोबाट पाइपमार्फत ड्रममा सङ्कलन गरी त्यसमा तितेपाती, असुरो, वनमारा र खिर्रोका पात मिसाएर जैविक विषादी तयार गरी सुन्तला र तरकारी बालीमा प्रयोग गर्ने गरेको उनले बताए।

‘रासायनिक मल र विषादीको विकल्पमा जैविक मल उत्पादन गर्न फार्ममै एक भैँसी, तीन गाई र १४ वटा बाख्रा पालेको छु,’ उनले भने, ‘जैविक विषादीको प्रयोगले दिगो कृषि, स्वस्थ उपज उत्पादन र पर्यावरणीय सन्तुलन कायम राख्न सहयोग पुगेको छ।’

जैविक विषादीलाई पानीको मात्रा मिलाएर सुन्तलाका बोट र तरकारी बालीमा छर्कँदा मलको कामसमेत हुने र शत्रु कीरा नष्ट हुने भएकाले दोहोरो फाइदा मिलेको शर्माको अनुभव छ। पर्यावरण सन्तुलन कायम गर्न व्यावसायिक रूपमा खाद्यबाली, फलफूल र तरकारी खेती गर्ने किसानले एकीकृत कृषि प्रणाली अपनाउनुपर्ने उनको सुझाव छ।

सन् २००२ मा रोजगारीका लागि युएई गएका शर्माले त्यहाँ १० वर्ष बिताएपछि सन् २०१२ मा स्वदेश फर्किएर ‘बिसम कृषि तथा पशुपालन फार्म’ स्थापना गरेका थिए। ‘स्वदेश फर्किएलगत्तै विदेश जानुअघि लगाएका १५० वटा सुन्तलाका बोटको स्याहारसुसार गरेर उत्पादनमा ल्याएँ,’ उनले भने, ‘बाँझिएको पाखोबारीमा थप ३०० नयाँ बिरुवा रोपें।’

यो वर्ष प्रतिकिलो ७० रुपैयाँका दरले ७० क्विन्टल सुन्तला चितवनका व्यापारीलाई बगैँचाबाटै बिक्री गरेको उनले बताएका छन्।

विदेशमा गर्ने मेहनत आफ्नै खेतबारीमा गर्न सके घरपरिवारसँगै बसेर आयआर्जन गर्न सकिने शर्माको अनुभव छ। सुन्तलाखेतीबाट आम्दानी हुन थालेपछि रोजगारीका लागि विदेश जाने सोच पूर्ण रूपमा त्यागेको उनले बताए।

श्रम तथा रोजगार मन्त्रालयले गत वर्ष वैदेशिक रोजगारबाट फर्किएर स्वदेशमै उद्यम सञ्चालन गरेकामा शर्मालाई सम्मान गरेको थियो। यसैगरी कृषि विकास कार्यालयले गत असारमा र मालिका गाउँपालिकाले गत फागुनमा उनलाई उत्कृष्ट कृषकका रूपमा सम्मान गरेको थियो।

शर्माले सुन्तलाका बिरुवा उत्पादन गर्ने नर्सरीसमेत सञ्चालन गरेका छन्। गत वर्ष ८० हजार रुपैयाँ बराबरका बिजु (बियाँबाट उत्पादन गरिएका) सुन्तलाका बिरुवा बिक्री गरेका उनले यस वर्ष आठ हजार नयाँ बिरुवा तयार पारेका छन्।

बगैँचासम्म सडक पुगेकाले कृषि उपज बजारीकरणमा समस्या नभएको र नजिकै पानीको स्रोत रहेकाले सिँचाइ सुविधा पनि सहज रहेको उनले बताए। शर्माबाट प्रेरित भएर उनका छिमेकी लक्ष्मण गौतम, तेजेन्द्र शर्मालगायत किसानहरूले पनि गहुँ, मकै, धान र कोदो जस्ता परम्परागत बाली छाडेर व्यावसायिक सुन्तलाखेती सुरु गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट