Techie IT
२०८३ असार ९, मंगलबार

प्रत्यक्ष निर्वाचित विद्यार्थी कल्याण परिषद् माग राख्दै काठमाडौँ विश्वविद्यालयका विद्यार्थी आन्दोलित

पुनः सिआर प्रणालीमा फर्किएर निर्वाचन गराउन खोजिएको भन्दै विद्यार्थीहरूले आपत्ति जनाएका छन्


काठमाडौँ विश्वविद्यालयका विद्यार्थीहरूले विद्यार्थी कल्याण परिषद् (स्टुडेन्ट वेलफेयर काउन्सिल) को निर्वाचन प्रत्यक्ष मतदान प्रणालीबाट गरिनुपर्ने माग गर्दै आन्दोलनको घोषणा गरेका छन् ।

विश्वविद्यालय प्रशासनले स्कुल अफ साइन्स र स्कुल अफ इञ्जिनियरिङमा कक्षा प्रतिनिधि (सिआर) प्रणालीमार्फत निर्वाचन गराउने तयारी थालेपछि असन्तुष्ट विद्यार्थीहरूले सोमबार बिहान ११:३० बजे प्रशासन घेराउ गर्ने कार्यक्रम तय गरेका हुन् ।

विद्यार्थीहरूका अनुसार प्रशासनले यसअघि वि.सं. २०८२ मा प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत चुनाव गराउने सूचना जारी गरेको थियो । तर समानुपातिक प्रतिनिधित्वसम्बन्धी विषयमा सहमति नजुट्दा सो समयमा निर्वाचन हुन सकेको थिएन ।

अहिले पुनः सिआर प्रणालीमा फर्किएर निर्वाचन गराउन खोजिएको भन्दै विद्यार्थीहरूले आपत्ति जनाएका छन् । सिआर प्रणाली अनुसार कक्षा प्रतिनिधिहरूले मात्र अध्यक्षसहित पदाधिकारी चयन गर्ने व्यवस्था रहन्छ, जसलाई विद्यार्थीहरूले अप्रत्यक्ष र अलोकतान्त्रिक प्रक्रिया भएको बताएका छन् ।

विद्यार्थीहरूको भनाइमा प्रत्यक्ष मतदान प्रणालीले मात्र आम विद्यार्थीको वास्तविक अभिमत प्रतिनिधित्व गर्ने र नेतृत्वलाई उत्तरदायी बनाउनेछ । उनीहरूले विगतमा कानुन संकायमा सिआर प्रणालीबाट भएको निर्वाचनमा आर्थिक अपारदर्शिता र ‘किनबेच’ जस्ता समस्या देखिएको आरोप पनि लगाएका छन् ।

प्रशासनले आफू निकटका व्यक्तिहरूलाई नेतृत्वमा ल्याउन सिआर प्रणाली लागू गर्न खोजेको विद्यार्थीहरूको दाबी छ । आन्दोलन अन्तर्गत विद्यार्थीहरूले विश्वविद्यालय परिसर तथा अनलाइन माध्यममार्फत हस्ताक्षर संकलन, भित्ते पत्रिका, पोस्टर र सामाजिक सञ्जालमार्फत जनचेतनामूलक अभियान सञ्चालन गरिरहेका छन् । विश्वविद्यालयमा क्रियाशील विभिन्न विद्यार्थी संगठनहरूले पनि प्रत्यक्ष निर्वाचनको मागमा ऐक्येबद्धता जनाएका छन् ।

यसैबीच, विश्वविद्यालय परिसर र आसपास क्षेत्रमा प्रहरीको उपस्थिति बाक्लो बनाइएको छ । विद्यार्थीहरूले प्राज्ञिक क्षेत्रमा प्रहरी परिचालन र निगरानीले पठनपाठन तथा शैक्षिक वातावरणमा असर परेको भन्दै आपत्ति जनाएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट