कैलालीमा खुला महिला फुटबल हुदै, विजेतालाई २ लाखभन्दा बढी पुरस्कार
कैलालीको टीकापुरमा ‘युथ अफ टीकापुर’ले खुला महिला फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगिता यही वैशाख २५ गतेदेखि सञ्चालन हुने आयोजकले जनाएको छ।
क्लबका अध्यक्ष अभिशेख शाहका अनुसार यसअघि हरेक वर्ष क्रिकेट प्रतियोगिता आयोजना गर्दै आए पनि यस वर्षदेखि फुटबललाई समेत प्राथमिकतामा राखिएको हो। “हामीले नियमित रूपमा क्रिकेट प्रतियोगिता गर्दै आएका थियौँ, यस वर्षदेखि फुटबल पनि थपेका छौँ,” उनले बताए।
प्रतियोगिताको विजेताले दुई लाख दुई हजार २२२ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले एक लाख ११ हजार १११ रुपैयाँ हात पार्नेछ। उत्कृष्ट खेलाडीलाई १० हजार ५०० रुपैयाँ प्रदान गरिनेछ। साथै उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई जनही ५ हजार ५०० रुपैयाँ पुरस्कार दिने व्यवस्था गरिएको कोषाध्यक्ष दीपक रिमालले जानकारी दिए।
आयोजकका अनुसार महिला फुटबलतर्फ यति ठूलो राशिको प्रतियोगिता यस क्षेत्रमै पहिलोपटक आयोजना हुन लागेको हो। प्रतियोगितामा देशभरबाट १६ महिला टोलीको सहभागिता रहनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस