Techie IT
२०८३ वैशाख १४, सोमबार

भोलिदेखि देशभर वर्षा: पश्चिम तराईको चर्को गर्मी अन्त्य हुने

गत २४ घण्टामा सबैभन्दा बढी वर्षा गुल्मीको मुसिकोटमा मापन


कोशीदेखि लुम्बिनीसम्म परेको वर्षाले गर्मीबाट आंशिक राहत दिलाए पनि लुम्बिनीदेखि पश्चिमका तराई क्षेत्रमा भने अझै चर्को गर्मी कायम छ । तर, मौसमविद्हरूका अनुसार भोलिदेखि पश्चिम तराईमा पनि वर्षा हुने भएकाले गर्मीबाट राहत मिल्ने अपेक्षा गरिएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि देशका सबै प्रदेशका तराई तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । हिमाली क्षेत्रमा भने हिउँ वा वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

मौसमविद् बिनु महर्जनका अनुसार बुधबारदेखि बिहीबारसम्म कोशी प्रदेशका अधिकांश स्थानमा तथा मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ ।

विभागले आज लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो मौसम कायमै रहने जनाएको छ । तर, भोलिदेखि सुरु हुने वर्षासँगै ती क्षेत्रमा पनि शीतलता महसुस हुने अपेक्षा गरिएको छ ।

आइतबार देशका मध्य र पूर्वी क्षेत्रका धेरै स्थानमा वर्षा भएको थियो, जसका कारण तापक्रम केही घटेको छ । साथै, डढेलो र प्रदूषणमा कमी आएको छ । यद्यपि, कतिपय स्थानमा हावाहुरी र असिनाले क्षति पुर्‍याएको विवरण पनि प्राप्त भएको छ ।

विभागका अनुसार हाल पश्चिमी र स्थानीय वायुका साथै पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभावका कारण यस साता देशभर बदली र वर्षाको क्रम जारी रहनेछ ।

मुसिकोटमा सर्वाधिक वर्षा
गत २४ घण्टामा सबैभन्दा बढी वर्षा गुल्मीको मुसिकोटमा मापन गरिएको छ । त्यहाँ ७८.२ मिलिमिटर वर्षा रेकर्ड भएको विभागले जनाएको छ ।

त्यसैगरी आँपचौरमा ४८.४ मिलिमिटर, बडिगाड रुद्रवेणीमा ३५ मिलिमिटर र भार्सेमा १८ मिलिमिटर वर्षा मापन भएको छ । ती क्षेत्रका साना खोलानाला तथा नदीहरूमा बाढीसमेत आएको थियो ।

प्युठानको सेउलीबाङमा ४५.६ मिलिमिटर र झापाको केचनामा ४० मिलिमिटर वर्षा मापन भएको छ । काठमाडौं उपत्यकामा पनि वर्षा भएकोमा सबैभन्दा बढी नैकापमा २६.२ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट