नेकपा विवाद
नेकपा बैठकमा चर्कियो विवाद, कार्यविभाजन टुंगो नलाग्दा भोलि फेरि बस्ने
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समितिको बैठक भोलि पुनः बस्ने भएको छ।
आज सोमबार पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बसेको बैठक कार्यविभाजनमा सहमति जुट्न नसक्दा निर्णयविहीन रूपमा स्थगित गरिएको हो। बैठकमा नेताहरूको कार्यविभाजन, विभागीय जिम्मेवारी तथा सचिवालय र केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने विषयमा छलफल भएको थियो। संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपाल ले यी विषयमा ठोस निर्णय लिने तयारी गरे पनि शीर्ष नेताहरूबीच सहमति नजुट्दा बैठक निष्कर्षमा पुग्न सकेन।
बैठकमा विशेषगरी महत्त्वपूर्ण विभागको नेतृत्वलाई लिएर विवाद देखिएको छ। सङ्गठन विभाग प्रमुखमा वामदेव गौतम र विदेश विभाग प्रमुखमा झलनाथ खनालले दाबी गरेपछि विवाद चर्किएको हो। अन्ततः सङ्गठन विभाग प्रमुख वर्षमान पुन लाई दिइएपछि असन्तुष्टि देखिएको एक नेताले बताएका छन्।
यद्यपि भूगोलका सात र गैरभूगोलका दुई गरी ९ प्रदेशका इन्चार्ज भने टुंगो लगाइएको छ। जसअनुसार कोशी प्रदेशमा राजेन्द्र राई, मधेसमा महिन्द्र राय यादव (सहइन्चार्जमा मात्रिका यादव र रामकुमार भट्टराई), बागमतीमा डा. गङ्गालाल तुलाधर, गण्डकीमा श्रीनाथ बराल, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा चन्द्रबहादुर शाही र सुदूरपश्चिममा डा. भीम रावल इन्चार्ज तोकिएका छन्।
त्यस्तै उपत्यका विशेष प्रदेशको इन्चार्ज हितमान शाक्य र सम्पर्क प्रदेशको इन्चार्ज यशोदा सुवेदी रहेका छन्। बाँकी जिम्मेवारीबारे निर्णय लिन बैठक भोलि पुनः बस्नेछ।
यसअघि पटक–पटक स्थगित हुँदै आएको बैठकमा संयोजक प्रचण्डले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव समेत राखेका थिए। साथै संविधान संशोधनका लागि ११ सदस्यीय कार्यदल गठन गरिएको छ, जसमा देव गुरुङ, प्रकाश ज्वाला, प्रेमबहादुर सिंहलगायतका नेताहरू रहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस