Techie IT
२०८२ माघ ८, बिहीबार

काठमाडौँ महानगरमा माघ १० देखि सहिद सप्ताह, विभिन्न स्थानमा श्रद्धाञ्जली र स्मृतिसभा हुने


काठमाडौँ महानगरपालिकाले यही माघ १० गते शनिबारदेखि सहिद सप्ताहका कार्यक्रम सुरु गर्ने भएको छ।

बुधबार महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा बसेको बैठकले विसं १९९७ मा प्राणदण्ड पाएका सहिदहरूले सहादत प्राप्त गरेको दिन र स्थानमा श्रद्धाञ्जली सभा गर्ने तथा माघ १६ गते लैनचौरस्थित सहिद स्मारक पार्कमा ज्ञात–अज्ञात सबै सहिदहरूको सम्झनामा स्मृतिसभा गर्ने निर्णय गरेको हो।

नागरिक स्वतन्त्रताका लागि सहादत प्राप्त गर्ने ज्ञात र अज्ञात सहिदहरूको सम्मानमा हरेक वर्ष माघ १० गतेदेखि १६ गतेसम्म सहिद सप्ताह मनाइँदै आएको छ। कार्यक्रमअनुसार सहिद सप्ताहको पहिलो दिन माघ १० गते टेकु मचलीमा, माघ १३ गते सिफल उकालोमा र माघ १५ गते शोभा भगवतीमा विशेष कार्यक्रम आयोजना गरिनेछ।

महानगरका अनुसार माघ १६ गते शान्ति बाटिकाबाट प्रभातफेरी निकालेर लैनचौर पुगेर सहिद स्तम्भमा औपचारिक स्मृतिसभा आयोजना हुनेछ। उक्त कार्यक्रममा प्रधानमन्त्री, मन्त्रीसहित विशिष्ट व्यक्तिहरूको सहभागिता रहने कार्यक्रम तय गरिएको छ। कार्यक्रम सञ्चालन र व्यवस्थापनको जिम्मेवारी सम्बन्धित वडाहरूलाई दिइएको छ।

विसं १९९७ माघ ७ गते शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ, दशरथ चन्द र पूर्णनारायण प्रधान गरी पाँच जनालाई सर्वस्वसहित मृत्युदण्डको फैसला सुनाइएको थियो। पछि पूर्णनारायण प्रधानको सजाय आजीवन कैदमा परिवर्तन गरिएको थियो।

प्राणदण्डको जोखिम थाहा हुँदाहुँदै पनि नागरिक स्वतन्त्रताको पक्षमा निर्भीक रूपमा आवाज उठाएका शास्त्री, माथेमा, श्रेष्ठ र चन्दले सहादत प्राप्त गरेपछि उनीहरूको सपना र बलिदानको स्मरण गर्दै प्रत्येक वर्ष सहिद दिवस तथा सहिद सप्ताह मनाउने गरिएको हो।

शास्त्रीलाई माघ १० गते टेकु मचलीस्थित खरिबोटमा, धर्मभक्त माथेमालाई माघ १३ गते सिफल उकालोमा बकाइनाको रुखमा झुण्ड्याएर प्राणदण्ड दिइएको थियो। माघ १५ गते शोभा भगवती किनारमा गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई एक–अर्कालाई देख्ने गरी गोली हानेर हत्या गरिएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट