सवा ७ अर्बको हाराहारीमा पोखरा महानगरको बजेट आज आउने
पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि आज बजेट प्रस्तुत गर्दैछ। बिहीबार नीति तथा कार्यक्रम सार्वजनिक गरेको महानगरले आज (शुक्रबार) नगरसभामा बजेट पेस गर्न लागेको हो।
महानगरले आगामी वर्षका लागि करिब ७ अर्ब १५ करोडदेखि ७ अर्ब ५० करोड रुपैयाँको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ। यो आकार गत वर्षको तुलनामा कम हो। चालू आर्थिक वर्षमा आन्तरिक आम्दानीको प्रक्षेपण लक्ष्यअनुसार हुन नसकेपछि महानगर वित्तीय दबाबमा परेको हो, जसका कारण आगामी वर्षको बजेट खुम्चिन पुगेको छ।
आन्तरिक स्रोत परिचालनमा कमजोरी देखिएपछि आगामी आर्थिक वर्षका लागि ५० करोड रुपैयाँभन्दा बढीको भुक्तानी दायित्व सर्ने देखिएको छ। हाल निर्माण व्यवसायी र उपभोक्ता समितिले वडा कार्यालय तथा महानगरपालिकामा बुझाएको करोडौँ मूल्यका बिलहरूको भुक्तानी रोकिएको छ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालका अनुसार हाल भुक्तानी हुन नसकेका योजनाहरूलाई आगामी आर्थिक वर्षमा नयाँ योजना सरह सारेर भुक्तानीको व्यवस्था मिलाइनेछ। पुरानो दायित्व व्यवस्थापन गर्नुपर्ने बाध्यताका कारण महानगरलाई नयाँ विकास निर्माणका योजना समेट्न चुनौती थपिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस