Techie IT
२०८३ श्रावण ६, बुधबार

माइतीघर डुबानको प्राविधिक कारणसहित प्रतिवेदन पेस गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन


काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर क्षेत्रमा हुने डुबानको प्राविधिक कारण खोजी गरी यथाशीघ्र प्रतिवेदन पेस गर्न सम्बद्ध निकायका अधिकारीहरूलाई निर्देशन दिनुभएको छ।

मङ्गलबार डुबानग्रस्त माइतीघर क्षेत्रको स्थलगत अनुगमन गर्दै उहाँले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (KUKL), डिभिजन सडक कार्यालय काठमाडौँ र महानगरपालिकाका सम्बन्धित विभागका टोलीलाई एकीकृत प्रतिवेदन बुझाउन निर्देशन दिनुभएको हो।

अनुगमनका क्रममा माइतीघर क्षेत्रमा ९० सेन्टिमिटर व्यासको ढल राखिएको तर निकास हुने ठाउँमा भने ६० सेन्टिमिटरको मात्रै ढल भएकाले पानी थुप्रिएर डुबान हुने गरेको प्रारम्भिक अध्ययनले देखाएको छ। यसका साथै माइतीघर मण्डला वरपर बनेका भौतिक संरचनाका कारणसमेत ढल निकास प्रणालीमा अवरोध पुगेको अनुमान गरिएको छ।

कार्यवाहक प्रमुख डंगोलले स्थानीय प्रशासन तथा पूर्वाधार विकाससँग सम्बद्ध साझेदार निकायहरूसँगको समन्वय र सहकार्यमा माइतीघर मण्डला क्षेत्रलाई दीर्घकालीन रूपमा डुबानमुक्त बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

अनुगमन टोलीमा उपत्यका ट्राफिक प्रहरी कार्यालय, काठमाडौँ महानगरपालिकाको विपद् व्यवस्थापन विभाग, सार्वजनिक निर्माण विभाग, सहरी योजना आयोग र महानगर प्रहरी बलका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट