इमेज सहकारी ठगी प्रकरण: ढोरपाटनका मेयर देवकुमार नेपाली पुर्पक्ष थुनामा

इमेज बचत तथा ऋण सहकारी संस्था ठगी अभियोगमा मुछिएका बागलुङको ढोरपाटन नगरपालिका प्रमुख (मेयर) देवकुमार नेपालीलाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ ।
सोमबार न्यायाधीश हिमलाल बेलबासेको इजलासले उनलाई बागलुङ कारागारमै थुनामा राख्ने आदेश दिएको हो । नेपालीलाई आइतबार बयानका लागि पोखरा झिकाइएको थियो ।
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीका अनुसार पोखरास्थित इमेज सहकारीमा मात्र नेपालीले ५७ करोड ३५ लाख ८४ हजार रुपैयाँ हिनामिना गरेको आरोप छ । उनी इमेज सहकारी ठगी मुद्दामा १५ जना अभियुक्तमध्ये एक हुन् ।
देवकुमार नेपालीले बागलुङ र पोखरामा इमेज सहकारीका नाममा दुई वटा संस्था सञ्चालन गर्दै आएका थिए । यसअघि उनी सुर्यदर्शन बचत तथा ऋण सहकारीका उपाध्यक्षसमेत थिए । त्यहाँबाट पनि ७७ लाख ५० हजार रुपैयाँ अनधिकृत रुपमा निकालेको भन्दै सरकारी वकिलको कार्यालयले अर्काे मुद्दा अघि सारेको छ ।
सुर्यदर्शन सहकारी ठगी अभियोगमा भने गत बिहीबार जिल्ला अदालतले उनलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिए पनि नेपालीले अहिलेसम्म धरौटी रकम बुझाएका छैनन् ।
सर्वसाधारणको बचत फिर्ता नदिएपछि नेपाली १६ महिना फरार भएका थिए । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले २०८१ असोज ११ गते भारतको दिल्लीबाट पक्राउ गरेर नेपाल ल्याएको थियो ।
दिल्लीबाट ल्याएपछि उनलाई बागलुङ अदालतको आदेशमा कारागार चलान गरिएको थियो । कास्की अदालतको पछिल्लो आदेशअनुसार उनी हाल बागलुङ कारागारमै रहनेछन् ।
तपाईको प्रतिक्रिया दिनुहोस