शुक्लाफाँटामा अतिविपन्न दलित बालबालिकालाई झोला, पोसाक र कापी सहयोग

शुक्लाफाँटा नगरपालिकाका आर्थिक अवस्था कमजोर रहेका दलित समुदायका ७० बालबालिकालाई आज शैक्षिक सामग्री सहयोग गरिएको छ ।
चालु आर्थिक वर्षको नगरपालिकाको दलित लक्षित वर्गको मागमा आधारित कार्यक्रमअन्तर्गत राष्ट्रिय हलिया मुक्त समाज कञ्चनपुरको आयोजना तथा नगरपालिकाको आर्थिक सहयोगमा अतिविपन्न परिवारका दलित समुदायका बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरिएको हो ।
नगरपालिकाको सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ५ देखि १० सम्मका अतिविपन्न दलित परिवारका ७० जना बालबालिका जनही १५ कापी, एक झोला, एक जोर विद्यालय पोसाक, एक थान औजार बक्सलगायत सामग्री सहयोग गरिएको समाजका अध्यक्ष शिवि लुहारले बताउनुभयो । नगरपालिकामा सञ्चालित सामुदायिक विद्यालयबाट तीनजना दरले बालबालिकाको छनोट गरी नाम पठाएका आधारमा शैक्षिक सामग्री वितरणको गरिएको उनले जानकारी दिए ।
एक कार्यक्रमका बीच नगरप्रमुख रणबहादुर महरा, उपप्रमुख कल्पनाकुमारी जोशी पन्त, दलित अधिकारकर्मी गोविन्द नेपाली, अनिता नेपाली, गणेश विक, समाजसेवी दीपक भट्टलगायतले बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको थियो ।
त्यसक्रममा नगरप्रमुख महराले शिक्षा पाउनबाट कोही पनि वञ्चित हुुनुहुँदैन भनेर नगरपालिकाको बजेटको ठूलो हिस्सा शिक्षा क्षेत्रमा खर्चिएको बताएका थिए । उनले शिक्षाको गुणस्तर सुधारका लागि विषयगत, कक्षागत शिक्षक व्यवस्थापनसँगै सामुदायिक विद्यालयमा स्थायी दरबन्दीका प्रधानाध्यापकको व्यवस्था गरिएको र एक वर्ष नपुग्दै विगतको तुलनामा कक्षा ८ को बोर्ड परीक्षाको नतिजा सन्तोषजनक आएको बताएका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस