Techie IT
२०८३ श्रावण ११, सोमबार

सुनसरीमा सेना परिचालन, पूर्व - पश्चिम राजमार्गमा अनिश्चितकालीन कर्फ्यु


प्रहरीको गोली लागेर स्थानीय युवकको मृत्यु भएपछि चर्किएको आन्दोलनले उग्र रूप लिएपछि सुनसरीको पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ। परिस्थिति नियन्त्रणबाहिर जान थालेपछि स्थिति सम्हाल्न देवानगन्ज र आसपासका क्षेत्रमा नेपाली सेनासमेत परिचालन गरिएको छ।

आइतबार राति देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा प्रहरी र स्थानीयबिच भएको झडपमा सोही ठाउँका ओमप्रकाश मेहताको मृत्यु भएको थियो। गोली लागेर अन्य ९ जना घाइते भएका छन्, जसमध्ये दुई जनाको अवस्था गम्भीर छ। घाइतेहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

घटनाको विरोधमा आक्रोशित स्थानीयले सोमबार बिहानैदेखि कर्फ्यु आदेश तोड्दै लौकी, भोक्राहा र इनरुवा खण्डमा टायर बालेर प्रदर्शन, तोडफोड र आगजनी गरेका थिए। देवानगन्ज–३ का वडाध्यक्षको घर तोडफोड हुनुका साथै एक सर्वसाधारणको घरमा आगजनी भएको देवानगन्ज गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहताले जानकारी दिए। सेना परिचालन गरिएपछि भने सोमबार साँझदेखि सो क्षेत्रको अवस्था क्रमैसँग मत्थर बन्दै गएको छ।

आन्दोलनले राजमार्गसमेत प्रभावित भएपछि प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सोमबार राति ९ बजेदेखि लागू हुने गरी राजमार्ग क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी गरेका हुन्। पूर्वमा इनरुवा–३ र ६ को सीमा (घोपली टोल), पश्चिममा कोशी ब्यारेजको पुल तथा राजमार्गको उत्तर–दक्षिण ५०० मिटरसम्म कर्फ्यु लागू गरिएको छ। कर्फ्युको उल्लङ्घन गर्नेलाई एक हजार रुपैयाँसम्म जरिवाना वा एक महिनासम्म कैद सजाय हुने चेतावनी दिइएको छ।

प्रशासनले राजमार्गमा रोकिएका सवारी साधनलाई सुरक्षा घेराभित्र गन्तव्यतर्फ पठाउने तयारी गरिरहेको छ। यसैबिच, सुनसरीका राजनीतिक दल र सामाजिक संघसंस्थाका प्रतिनिधिहरूले सर्वपक्षीय बैठक गरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै सबैलाई संयम रहन र सामाजिक सद्भाव कायम राख्न अपील गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट