जनकपुरधाममा निकालियो सद्भाव र्याली, हजारौंको सहभागिता
केही दिनयताको तनावपूर्ण अवस्थालाई साम्य पार्दै जनकपुरधाममा आज 'सद्भाव र्याली' निकालिएको छ। जिल्ला प्रशासन कार्यालय धनुषाको संयोजन र नेतृत्वमा आयोजित उक्त र्यालीमा विभिन्न समुदाय र सम्प्रदायका नागरिकहरूले ऐक्यबद्धता जनाएका छन्।
रेलवे स्टेशनबाट सुरु भएको र्याली भानु चोक, जनक चोक र सोनारपट्टीको परिक्रमा गर्दै पुनः जनक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो। र्यालीका सहभागीहरूले ‘नेपाली एकता जिन्दावाद’ र ‘हामी सबै एक हौं’ जस्ता नारा लगाउँदै जनकपुरको सामाजिक सद्भाव कायम राख्न अपिल गरेका थिए।
सद्भाव र्यालीमा धनुषा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य मनिष झा, धनुषा–२ का सांसद रामविनोद यादव र जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साहलगायतका जनप्रतिनिधिहरूको सक्रिय सहभागिता थियो।
बिहीबारको प्रदर्शनका क्रममा हिंसा भड्किन सक्ने जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो। सोही प्रदर्शनको क्रममा एक बालक घाइतेसमेत भएका थिए। समाजमा फैलिएको द्वेषलाई हटाएर शान्ति र भाइचारा कायम गर्ने उद्देश्यले स्थानीय प्रशासनले आजको र्यालीको आयोजना गरेको हो।



तपाईको प्रतिक्रिया दिनुहोस