गोलबजार हत्याकाण्ड: पोस्टमार्टमबाट गोली लागेको पुष्टि, प्रहरीको झुट पर्दाफास
सुसुनसरीमा साउन १० गते भएको झडपको असर मधेसका जिल्लाहरूमा समेत फैलिएको थियो । त्यस क्रममा साउन १४ गते सिरहाको गोलबजारमा भएको प्रदर्शनमा प्रहरीसँगको झडपमा १८ वर्षीय गणेश यादवले ज्यान गुमाएका थिए ।
औरही गाउँपालिका–२ का स्थायी बासिन्दा यादवलाई मन्त्रिपरिषद्ले यसअघि नै सहिद घोषणा गरिसकेको छ। उनको मृत्युको कारण र यसमा संलग्न पक्षमाथि छानबिन गर्न गृह मन्त्रालयले सहसचिव पुष्पराज शाहीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ। मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेका अनुसार समितिले अहिले आफ्नो काम तीव्र रूपमा अघि बढाइरहेको छ।
छानबिन समितिका सदस्यहरूले सिरहा पुगेर घटनाबारे स्थलगत अनुगमन समेत गरेका छन्। मृतक गणेश यादवको पोस्टमार्टम रिपोर्टबाट उनको शरीरमा गोली लागेको आधिकारिक रूपमा पुष्टि भएको छ, यद्यपि प्रहरीले भने सुरुदेखि नै गोली लागेको तथ्य स्वीकार गर्नबाट पन्छिदै आएको थियो।
गोलबजारको उक्त प्रदर्शनका क्रममा धनुषाको मिथिला बिहारी नगरपालिका–८ का १९ वर्षीय सुवास ठाकुर र गोलबजार–४ का ६२ वर्षीय आलम खान गरी दुई जना घाइते भएका थिए। घाइतेमध्ये ठाकुरको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ भने प्रदर्शनकारीहरूले सोही क्रममा ११ वटा मोटरसाइकल र एउटा सपिङ मलमा आगजनी गरेका थिए।
यसैबीच, लहान नगरपालिका–४ मा प्रदर्शनकारी र प्रहरीबीचको झडपमा प्रहरीलाई नै गोली लागेको भन्ने प्रहरी प्रधान कार्यालयको दाबी पनि झुटो साबित भएको छ। इलाका प्रहरी कार्यालय लहानमा कार्यरत सहायक हवल्दार नारद परियारको दाहिने खुट्टामा गोली लागेको प्रहरीले दाबी गरे पनि गृह मन्त्रालयका एक उच्च अधिकृतका अनुसार उनलाई गोली लागेको थिएन।
गृहका ती अधिकारीले परियारलाई गोली नभई फलाम प्रकृतिको कुनै कडा वस्तुले मात्र घोचेको खुलाएका छन्। घटनामा घाइते भएका सहायक हवल्दार परियारको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार गरिएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस