Techie IT
२०८२ पौष १५, मंगलबार

कान्समा नेपालको ऐतिहासिक सफलता: ‘जिरो टु आठ ८८४८’ ले पायो बेस्ट एसियन फिल्म अवार्ड


नेपाली वृत्तचित्र ‘जिरो टु आठ हजार ८४८’ (शून्यदेखि सगरमाथा) ले फ्रान्सको प्रतिष्ठित वल्र्ड फिल्म फेस्टिभल इन कान्स मा ‘बेस्ट एसियन फिल्म अवार्ड’ प्राप्त गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको गौरव बढाएको छ।

फेस्टिभलको निर्णायक समितिले सशक्त कथावस्तु, उच्चस्तरीय सिनेम्याटिक प्रस्तुति, सङ्घर्ष, साहस र मानवीय आकाङ्क्षालाई गहिराइका साथ प्रस्तुत गरेको आधारमा विश्वभरबाट सहभागी चलचित्रहरूमध्ये उक्त वृत्तचित्रलाई उत्कृष्ट ठहर गरेको हो। फिल्मको मौलिकता, गहिरो अनुसन्धान, विश्वव्यापी सन्देश तथा प्रकृति र संस्कृतिको प्रभावशाली प्रस्तुति निर्णायक बनेको जनाइएको छ।

वृत्तचित्रमा नेपालको सबैभन्दा होचो भू–भाग झापा जिल्लाको कचनकवलदेखि विश्वको सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मिटर) सम्मको यात्रा जीवन्त र यथार्थपरक शैलीमा चित्रण गरिएको छ। यो केवल भौगोलिक यात्रामात्र नभई सङ्घर्ष, धैर्यता, उद्देश्य र साहसको गहिरो कथा पनि हो।

यसमा जलवायु परिवर्तन, नेपालको भौगोलिक विविधता र जीवनलाई एउटा निरन्तर आरोहणका रूपमा बुझाउने दार्शनिक सन्देश समेत प्रभावकारी रूपमा समेटिएको छ।

फिल्मका टिम लिडर प्रेम बानियाँले अवार्डप्रति प्रतिक्रिया दिँदै भने, “बेस्ट एसियन फिल्म अवार्ड प्राप्त हुनु हाम्रो लागि अत्यन्तै गर्वको क्षण हो। यसले यो डकुमेन्ट्री मात्र होइन, नेपाल र एसियाका कथा, पात्र र सोचलाई अन्तर्राष्ट्रिय सम्मान दिएको छ। यस उपलब्धिले हामीलाई अझ अर्थपूर्ण र प्रेरणादायी कथा सिर्जना गर्न ऊर्जा दिएको छ।”

यस अवार्डसँगै ‘जिरो टु आठ हजार ८४८’ स्वतः वल्र्ड फिल्म फेस्टिभल इन कान्स को वार्षिक प्रतिस्पर्धामा प्रवेश गरेको छ। सन् २०२६ मा आयोजना हुने उक्त वार्षिक समारोहमा यसको सहभागिता रहनेछ। साथै, यो वृत्तचित्र फेस्टिभलको ‘बेस्ट अफ फ्युचर’ छनोट र दर्शक पुरस्कार का लागि पनि योग्य बनेको छ।

एक मिलियन अमेरिकी डलरको लागतमा निर्मित यो वृत्तचित्रको परिकल्पना तथा नेतृत्व पत्रकार तथा लेखक प्रेम बानियाँले गरेका हुन्। यस उपलब्धिले ‘जिरो टु आठ हजार ८४८’ लाई एसियाबाट विश्वमञ्चमा उदाएको एक महत्वपूर्ण सिनेम्याटिक आवाजका रूपमा स्थापित गरेको छ।

वृत्तचित्रमा चर्चित हलिउड डकुमेन्ट्री पात्र तथा द नर्थ फेस का ब्रान्ड एम्बेस्डर कोनराड एन्कर, १८ पटक सगरमाथा आरोहण गरिसकेका टेण्डी शेर्पा, विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुस्कर शाह, माउन्टेनियर आङ पासाङ शेर्पालगायतका व्यक्तित्वहरू फिचर भएका छन्।

डकुमेन्ट्रीको निर्देशन तथा सम्पादन निरञ्जन पाण्डे र बलराम बूढाथोकीले गरेका हुन् भने कार्यकारी निर्माता श्रीराम वाग्ले हुन्। निर्माता टोलीमा कपिलशरण वाग्ले, एलेक्स पराजुली, राजेन्द्र पाण्डे र जयनारायण शाह रहेका छन्।

निर्माण कम्पनीका अनुसार डकुमेन्ट्री विश्वका प्रमुख सहरहरूमा प्रदर्शन गरिनेछ। यसअघि अमेरिकाको जर्जिया र नर्थ क्यारोलाइनाका एएमसी थिएटरमा विशेष शो सम्पन्न भइसकेका छन्। आगामी जनवरीदेखि अमेरिकाका प्रमुख सहरहरूमा विशेष प्रदर्शनपछि विश्वव्यापी यात्रा सुरु गर्ने तयारी रहेको प्रेम बानियाँले जानकारी दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट