प्रहरी पोशाक खरिदमा छानबिन समिति बनेको हैन: सांसद ओली
सार्वजनिक लेखा समितिकी सदस्य खुश्बु ओलीले विभिन्न सञ्चारमाध्यममा आएजस्तो पोशाक खरिदबारे कुनै पनि छानबिन समिति गठन नगरिएको स्पष्ट पारेकी छन्।
उनका अनुसार सार्वजनिक लेखा समितिले निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको पोशाक खरिदबारे प्राप्त प्रतिवेदन तथा सम्बन्धित कागजातहरू अध्ययन गर्नका लागि मात्र उपसमिति गठन गरेको हो। सुरक्षा निकायहरूबाट प्राप्त कागजातहरू अध्ययन गरी उक्त विषयमा थप छानबिन आवश्यक छ वा छैन भन्ने निष्कर्षमा पुग्न यो उपसमिति बनाइएको सांसद ओलीले बताइन्।
अहिले गठन भएको उपसमितिको मुख्य जिम्मेवारी पोशाक खरिदबारे प्राप्त विवरण र कागजातहरूको अध्ययन गर्ने मात्र रहेको र त्यसैको आधारमा आगामी प्रक्रिया तय हुने जनाइएको छ।
नेतृ ओलीको फेसबुक पोष्ट-
विभिन्न सञ्चारमाध्यममा आएजस्तो आज छानबिन समिति गठन भएको होइन। सार्वजनिक लेखा समितिले निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमिति गठन गरेको हो।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालबाट प्राप्त प्रतिवेदन तथा सम्बन्धित कागजातहरूको अध्ययन गरी यस विषयमा थप छानबिन गर्नुपर्ने आवश्यकता छ कि छैन भन्ने निष्कर्षमा पुग्नका लागि यो उपसमिति गठन गरिएको हो।
हाम्रो स्पष्ट अडान छ, पहिले तथ्य, प्रतिवेदन र कागजातको अध्ययन हुनुपर्छ, त्यसपछि मात्रै छानबिन आवश्यक छ कि छैन भन्ने निर्णय हुनुपर्छ।



तपाईको प्रतिक्रिया दिनुहोस