Techie IT
२०८२ माघ २८, बुधबार

अभिनेता श्रेयस तलपडेसहित १३ जनाविरुद्ध ठगीको उजुरी


बलिउडका चर्चित अभिनेता श्रेयस तलपडे र उनीसँगैका अन्य १२ जनाविरुद्ध ठगीको आरोपमा उजुरी दर्ता भएको छ। लगानीको नाममा ठूलो रकम हडपिएको भन्दै उत्तर प्रदेशको मैनपुरी जिल्लास्थित भोगाउँ थानामा उनीहरूविरुद्ध उजुरी परेको हो।

एएनआईको रिपोर्टअनुसार फेब्रुअरी १० मा दर्ता गरिएको उजुरीमा अभिनेता तलपडेले मानिसहरूलाई प्रलोभनमा पारेर लाखौँ रुपैयाँ ठगी गरेको आरोप लगाइएको छ। भोगाउँका एक पीडितका अनुसार श्रेयस र उनको समूहले मुम्बईस्थित एक प्रतिष्ठित बैंकको शाखा भोगाउँको मिश्राना मोहल्लामा खोल्ने र त्यसमा लगानी गरे उच्च प्रतिफल पाइने भन्दै स्थानीयलाई भ्रममा पारेका थिए।

अभिनेता प्रतिको विश्वासमा परेर धेरै गाउँलेहरूले आफ्नो बचत लगानी गरे पनि पछि उक्त बैंक नै नक्कली भएको खुलेको उजुरीमा उल्लेख छ। घटनापछि अदालतले मामिलालाई गम्भीरतापूर्वक लिँदै विस्तृत अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको छ। उजुरीमा श्रेयसलाई ‘मार्केटिङ एडभाइजर’ का रूपमा उल्लेख गरिएको छ भने समिर अग्रवाल, सानिया अग्रवाल, आर.के. शेट्टीलगायत अन्य व्यक्तिहरूको नाम पनि समावेश गरिएको छ।

श्रेयस तलपडे यसअघि पनि ठगीसम्बन्धी विवादमा मुछिएको आरोप लाग्दै आएको छ। सन् २०२५ मा पनि उनीमाथि करोडौँ रुपैयाँ ठगी गरेको आरोप लगाउँदै उत्तर प्रदेशको मितली गाउँकी बबली नामक महिलाले अभिनेता आलोक नाथसहित २२ जनाविरुद्ध उजुरी दिएकी थिइन्।

त्यसबेला एउटा कम्पनीका ब्रान्ड एम्बेसेडर रहेका श्रेयसले पैसा दोब्बर बनाउने प्रलोभन देखाएर करिब ५०० जनालाई ठगेको आरोप लागेको थियो। सोही वर्ष उत्तर प्रदेश, उत्तराखण्ड र हरियाणामा समेत उनीविरुद्ध चिटफण्ड घोटालासम्बन्धी उजुरीहरू दर्ता भएका थिए।

पटक–पटक ठगी र आर्थिक अनियमितताको आरोप जोडिँदै आएपछि बलिउड वृत्तमा श्रेयसको छविमाथि प्रश्न उठ्न थालेको छ। यस विषयमा प्रहरीले उजुरीमा नाम उल्लेख भएका सबै व्यक्तिहरूको संलग्नता प्रमाणित गर्न अनुसन्धान अघि बढाएको जनाएको छ। दोषी ठहरिए कानुनी कारबाही हुने प्रहरीको भनाइ छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट