नक्कली भिडियो कलमार्फत ह्याकरले चोरे ४० करोड डलरको क्रिप्टो
उत्तर कोरियाली राज्य-समर्थित ह्याकरहरूले नक्कली भिडियो कलको प्रयोग गरी सर्वसाधारणको पहिचान चोरी गर्दै ४० करोड अमेरिकी डलर (करिब ५४ अर्ब नेपाली रुपैयाँभन्दा बढी) बराबरको क्रिप्टोकरेन्सी लुटेका छन् । अमेरिकी संघीय जाँच ब्युरो (एफबीआई) का अनुसार पछिल्लो १८ महिनामा विश्वभरका ९०० भन्दा बढी व्यक्तिहरू यस परिष्कृत साइबर ठगीको सिकार बनेका छन् ।
एफबीआईले साइबर आक्रमणको यो नयाँ शैलीलाई ‘फेसस्टिलर’ (FaceStealer) नाम दिएको छ । एफबीआईका साइबर विभाग निर्देशक ब्रेट लेदरम्यानले उत्तर कोरियाली शासनले आफ्नो अवैध आणविक तथा क्षेप्यास्त्र (हतियार) कार्यक्रम सञ्चालन गर्न आवश्यक आर्थिक स्रोत जुटाउन यस्ता ठूला क्रिप्टोकरेन्सी चोरीमा निर्भर रहने गरेको बताएका छन् ।
विश्वको सबैभन्दा ठूलो क्रिप्टो एक्सचेन्ज ‘बाइनान्स’ लगायतका क्रिप्टो प्लेटफर्महरूलाई लक्षित गरी उत्तर कोरियाली समूहले नक्कली जागिरको अन्तर्वार्तामार्फत अर्बौँ डलर चोरी गर्ने गरेको खुलासा भइरहेकै बेला एफबीआईले यो नयाँ तथ्य बाहिर ल्याएको हो । अमेरिकी कानुन कार्यान्वयन निकायहरूले यस्ता शृङ्खलाबद्ध साइबर आक्रमणमा प्योङयाङको प्रत्यक्ष संलग्नता रहेको ठहर गरे पनि उत्तर कोरियाले भने उक्त आरोप अस्वीकार गर्दै आएको छ ।
कसरी गरिन्छ ‘फेसस्टिलर’ ठगी ?
अमेरिकी न्याय विभाग र एफबीआईका अनुसार ‘फेसस्टिलर’ ह्याकरहरूले विशेषगरी क्रिप्टोकरेन्सी, वेब-थ्री (Web3) र ओपन-सोर्स सफ्टवेयर विकासको क्षेत्रमा कार्यरत विज्ञ तथा लगानीकर्ताहरूलाई लक्षित गर्छन् । ठगीको प्रक्रिया निम्नानुसार अपनाइन्छ -
नक्कली प्लेटफर्मको प्रयोग : ह्याकरहरूले पहिले ह्याक गरिएका वा नक्कली सामाजिक सञ्जाल खातामार्फत पीडितलाई सम्पर्क गर्छन् । त्यसपछि जुम (Zoom), माइक्रोसफ्ट टिम्स वा गुगल मिट (Google Meet) जस्तै देखिने नक्कली वेब प्लेटफर्ममा भिडियो कलका लागि निम्तो पठाउँछन् ।
पुरानो भिडियोको दुरुपयोग : कल सुरु भएपछि ह्याकरहरूले पीडितले चिनेका व्यक्ति (जसलाई ह्याकरले पहिले नै ठगिसकेका हुन्छन्) को रेकर्ड गरिएको भिडियो स्क्रिनमा चलाउँछन् । चिनेकै अनुहार देखेपछि पीडितलाई उक्त कल वास्तविक भएको विश्वास लाग्छ । कुराकानी सुरु भएको केही बेरमै प्राविधिक समस्या आएर आवाज (अडियो) नसुनिने बनाइन्छ । लगत्तै स्क्रिनमा अडियो ‘फिक्स’ (मर्मत) गर्न एउटा सफ्टवेयर अपडेट वा लिङ्कमा क्लिक गर्न सन्देश आउँछ । उक्त लिङ्कमा क्लिक गर्नेबित्तिकै पीडितको कम्प्युटर वा मोबाइलमा गोप्य रूपमा ‘मालवेयर’ (भाइरस) डाउनलोड हुन्छ ।
मालवेयर सक्रिय भएपछि ह्याकरहरूले पीडितको डिजिटल क्रिप्टो वालेटको पासवर्ड, ब्राउजर डेटा र कन्ट्याक्ट लिस्टमा पूर्ण पहुँच बनाउँछन् । साथै, पीडितको अनुहारको भिडियो गोप्य रूपमा रेकर्ड गरी पछि उनका अन्य साथीभाइलाई झुक्याउन प्रयोग गर्छन् ।
एफबीआईको लस एन्जलस कार्यालयका सहायक निर्देशक प्याट्रिक ग्रान्डीले यो प्रविधि अत्यन्तै खतरनाक रहेको र साइबर सुरक्षाप्रति सचेत अनुभवी प्रविधिविज्ञसमेत यसको जालमा पर्न सक्ने चेतावनी दिएका छन् । “यस आक्रमणले परिचित भिडियो कन्फरेन्स प्लेटफर्म र व्यक्तिगत सम्बन्धप्रतिको विश्वासलाई हतियारका रूपमा दुरुपयोग गर्छ,” ग्रान्डीले भनेका छन् । एफबीआईले अपरिचित लिङ्कमार्फत आउने भिडियो कल र सफ्टवेयर अपडेटका आग्रहप्रति उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस