नेपाली फिल्म ‘शाम्बाला’ लण्डन फिल्म फेस्टिभलमा प्रिमियर हुदैँ
                                                        नेपाली फिल्म ‘शाम्बाला’ले लण्डन फिल्म फेस्टिभलको ६८ औं संस्करणमा प्रिमियर हुने मौका पाएको छ । यसले नेपाली सिनेमा उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ मान्यता दिएको छ।
यो फेस्टिभल बेलायतको सबैभन्दा प्रतिष्ठित फिल्म फेस्टिभलमध्ये एक हो, र ‘शाम्बाला’ यो फेस्टिभलमा प्रिमियर हुने पहिलो नेपाली फिल्म बनेको छ।
फेस्टिभलले असोज २९ र ३० गते (१५ र १६ अक्टोबर)का लागि फिल्मको स्क्रिनिङको मिति तय गरेको छ। यसमध्ये, ३० गते बुधबारको शोका सबै टिकट बिक्री भइसकेका छन्, जुन फिल्मप्रति अन्तर्राष्ट्रिय दर्शकहरूको ठूलो चासोको संकेत हो। फेस्टिभलको यस संस्करण अक्टोबर ९ देखि २० सम्म चल्नेछ।
'शाम्बाला' यसअघि पनि अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूमा उत्कृष्ट प्रदर्शन गरिसकेको छ। फिल्मले बर्लिनको यस वर्षको संस्करणमा ३० वर्षपछि मुख्य विधामा छनोट हुने दक्षिण एसियाली फिल्मको कीर्तिमान बनाएको थियो। यस्तै, स्वीट्जरल्याण्डको प्रतिष्ठित लोकार्नो फिल्म फेस्टिभलमा समेत यसको स्क्रिनिङ भएको थियो। यसले साम्बला फिल्मको अन्तर्राष्ट्रिय महत्त्वलाई थप पुष्टि गरेको छ।
मीनबहादुर भामको निर्देशनमा बनेको यो फिल्मले नेपालका हलहरूमा पनि राम्रो प्रतिक्रिया पाएको छ। दोस्रो सप्ताहन्तसम्म फिल्मले २ करोड रुपैयाँ हाराहारीको कमाइ गरिसकेको छ।



    
तपाईको प्रतिक्रिया दिनुहोस