Techie IT
२०८२ भाद्र ३१, मंगलबार

बाँकेको सुतैया ताल: आन्तरिक पर्यटकको नयाँ गन्तव्य बन्दै


RSS

बाँके:  बाँकेको वैजनाथ गाउँपालिका–३ मा रहेको ‘सुतैया ताल’ हाल आन्तरिक पर्यटकहरूका लागि नयाँ र लोकप्रिय गन्तव्यको रूपमा विकास हुँदैछ। 

कोहलपुर बजारबाट लगभग ६ किलोमिटर उत्तरतर्फ सुर्खेततर्फ जाने रत्न राजमार्गको किनारामा रहेको यो ताल पिकनिक, वन्यजन्तु अवलोकन र प्राकृतिक सौन्दर्यमा रमाउने पर्यटकहरूका लागि आकर्षणको केन्द्र बन्दै गएको हो।

करिब सात हेक्टरमा फैलिएको यस ताललाई देउराली जनआश्रित मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले एक दशकदेखि संरक्षण र संवर्द्धन गर्दै आएको छ। समूहका पूर्वअध्यक्ष महेन्द्र थारुले हालै सुतैया ताल आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको बताउनुभयो। उहाँका अनुसार बाँके राष्ट्रिय निकुञ्जको नजिक रहेको यो ताल वन्यजन्तु अवलोकनका लागि पनि उत्तिकै महत्वपूर्ण बनेको छ। "ताल संरक्षण गर्न थालेपछि यहाँ पाटेबाघ, चित्तल, बँदेललगायतका वन्यजन्तु पानी खान आउन थालेका छन्, जसले पर्यटकहरूको ध्यान आकर्षित गरेको छ," थारुले भन्नुभयो।

तालको संरक्षणसँगै यसको पर्यटन सम्भावना बढाउन पूर्वाधार आवश्यक भएकोमा स्थानीय स्रोतको अभावले ती कार्यलाई गति दिन कठिनाई भएको बताइएको छ। वैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले ताललाई प्रमुख पर्यटकीय स्थल बनाउने प्रयासमा रहेको र यसका लागि वार्षिक रूपमा बजेट छुट्याइरहे पनि पर्याप्त नभएको बताउनुभयो। तालको संरक्षण र पर्यटन पूर्वाधार निर्माणका लागि पालिकाले वरपर ड्याम निर्माण योजना अघि बढाएको छ, तर थप पूर्वाधारका लागि प्रदेश र संघीय सरकारको सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो।

"तालको पूर्ण संरक्षण र पर्यटकीय पूर्वाधार विकासले आन्तरिक आम्दानीको स्रोत बन्नेछ। ठूलो लगानीका लागि हामीसँग स्रोत नभएकाले प्रदेश तथा संघीय सरकारसँग सहयोगका लागि पहल गर्दैछौं," अध्यक्ष शाहीले भन्नुभयो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट