फ्लेर हिमालयन प्रालि वीरगन्जले एचआईभी संक्रमित कर्मचारीलाई राजीनामा दिन दबाब दिदैं
फ्लेर हिमालयन प्रालिले वीरगन्जमा १८ जना कर्मचारीको स्वास्थ्य जाँच गराउँदा एक कर्मचारीमा एचआईभी र अर्कामा हेपाटाइटिस ‘बी’ पत्ता लाग्यो । पुनः परीक्षणका लागि काठमाडौं पठाउँदा पनि उही नतीजा आयो । जाँचको खर्च उद्योगले नै बेहोरिरहेको थियो । काठमाण्डौंमा पनि नतिजा पोजेटिभ आएपछि भने उद्योगको व्यवहारमा परिवर्तन आउन थाल्यो ।
स्वास्थ्य जाँचमा एचआईभी र हेपाटाइटिस ‘बी’ पत्ता लागेका दुई कर्मचारीले उद्योगका एचआर समिम अहमदले फोन गरेर राजीनामा दिन दबाब दिएको गुनासो गरेका छन्। यी कर्मचारीहरू लामो समयदेखि उद्योगमा स्थायी रूपमा कार्यरत थिए । स्वास्थ्य जाँचपछि उपचार गराउन बिदामा बसेका उनीहरू काममा फर्किंदा कार्यालयभित्र पस्न नदिइएको र लिखित राजीनामा दिन दबाब दिएको बताएका छन् । एचआईभीको औषधि सरकारी स्वास्थ्य संस्थामा निःशुल्क पाइन्छ। नियमित औषधि सेवन गरी स्वस्थ जीवनशैली अपनाए सामान्य मानिस सरह जीवनयापन गर्न सकिन्छ। हेपाटाइटिस ‘बी’ रगतबाट सर्छ, कलेजोलाई असर गर्छ। यसको पनि औषधि पाइन्छ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष जितन पटवारीले फ्लेर हिमालयन उद्योगका दुई कामदारलाई निकाल्न लागेको थाहा पाएपछि श्रम कार्यालय, वीरगन्जमा निवेदन दिएका छन्। उनले उद्योगलाई पत्र पठाएर दुवै जनालाई काम गर्न दिन आग्रह गरेका छन्। श्रम कार्यालयका प्रमुख रुद्रनारायण साहले एचआईभी र हेपाटाइटिस ‘बी’ सामान्यतया सर्ने रोग नभएको र सावधानी अपनाउनुपर्ने बताएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस