रवि लामिछाने लाई ६ दिन हिरासतमा राख्न कास्की अदालतको अनुमति
-1729257302.jpeg)
पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा किर्तेसहित संगठित अपराधको आरोपमा कास्की जिल्ला अदालतले ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।
न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो। अदालतका सूचना अधिकारी सुरज अधिकारीका अनुसार अनुसन्धानका लागि लामिछानेलाई हिरासतमा राख्ने अनुमति प्रदान गरिएको छ।
लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र नारायण घिमिरेले अदालतमा बहस गरेका थिए। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले कास्की जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि लामिछानेलाई शुक्रबार काठमाडौंमा पक्राउ गरेको थियो। पक्राउपछि उनलाई पोखरा लगिएको थियो, जहाँ उनलाई अदालतमा म्याद थपका लागि उपस्थित गराइएको छ।
रास्वपाका नेता तथा कार्यकर्ताहरू लामिछानेको समर्थनमा पोखरामा प्रदर्शनमा उत्रिएका छन्। यसैबीच, सहकारी ठगीका पीडितहरूले पनि पोखरामा लामिछाने विरुद्ध प्रदर्शन गरेका छन्। प्रदर्शनले झडपको स्थिति उत्पन्न हुनसक्ने आशंकामा कास्की जिल्ला प्रशासन कार्यालयले पोखराका केही क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस