नेपाल रेडक्रसको केन्द्रीय कार्यसमिति विस्तार, विधान महाधिवेशन मङ्सिरमा

काठमाडौँ, नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमिति ५२ सदस्यीय बनेको छ । यही कात्तिक २ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले मौजुदा कार्यसमितिमा वरिष्ठ उपाध्यक्षसहित १७ सदस्य मनोनय गरेको हो । बैठकले वरिष्ठ उपाध्यक्षमा चन्द्रकला कार्की सहित अन्य सदस्य मनोनयन गरेको सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले जानकारी दिएका छन् । यसअघि नेपाल रेडक्रसमा ३५ सदस्यीय कार्यसमिति थियो ।
बैठकले आगामी मङ्सिर २६ र २७ गते विधान महाधिवेशन आह्वानसमेत गरेको छ । नेपाल रेडक्रसलाई थप एकताबद्ध बनाउन गरिएका प्रयासलाई विधान अधिवेशनबाट व्यवस्थित गरिने महामन्त्री श्रेष्ठको भनाइ छ । विधान महाधिवेशनबाट निर्वाचन गरी अहिले देखिएका मतभेदलाई अन्त्य गर्ने दुवै पक्षबीच सहमति भएको उनको राय छ ।
वर्तमान कार्य समितिको विपक्षमा रहेका पक्षले केन्द्रीय कार्य समितिको गठन, निर्वाचन तथा यससँग सम्बन्धित अदालतमा विचाराधीन मुद्दा फिर्ता लिने प्रक्रिया अगाडि बढिसकेको उनले जानकारी दिए । संस्थाको मौजुदा विधानमा मुलुकको सङ्घीयता सँग अनुकूलन, समावेशीकरण, रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घको मापदण्डसँग सामञ्जस्यतालगायत आधारमा समसामयिक सुधारका लागि एक समिति गठन गरिएको अध्यक्ष नेपालको भनाई छ ।
तपाईको प्रतिक्रिया दिनुहोस