ब्रिक्स शिखर सम्मेलनमा शान्तिका लागि पुटिनमाथि दबाब
रुसको केन्द्रीय शहर कजानमा बुधबार सम्पन्न ब्रिक्स शिखर सम्मेलनमा विश्व नेताहरूले युक्रेन र मध्यपूर्वमा शान्तिका लागि सामूहिक आह्वान गरे।
यो सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन द्वन्द्वको मध्यस्थताका प्रस्तावहरूलाई स्वागत गरेको बताए पनि, उनी आफ्ना प्रमुख साझेदारहरूबाट प्रत्यक्ष रूपमा शान्तिका लागि दबाब सामना गर्न बाध्य भए।
यो सम्मेलन २०२२ मा पुटिनले युक्रेनमा सेना पठाएपछि रुसमा आयोजना भएको सबैभन्दा ठूलो कूटनीतिक मञ्च थियो, जसमा विश्वका करिब २० नेताहरूको उपस्थिति थियो। पुटिनले यो सम्मेलनलाई मस्कोलाई एक्ल्याउने पश्चिमी प्रयासहरूको असफलताको सङ्केतका रूपमा प्रस्तुत गरे पनि, उनी आफ्ना निकटतम साझेदारहरूबाट युक्रेनमा जारी युद्ध अन्त्य गर्न आग्रह सुन्न बाध्य भएका थिए ।
युक्रेन र मध्यपूर्वमा शान्ति प्रयास
ब्रिक्स शिखर सम्मेलनको संयुक्त वक्तव्यमा समूहले मध्यपूर्व र उत्तर अफ्रिकामा जारी द्वन्द्व र अस्थिरताप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। साथै, यसले लेबनानको "क्षेत्रीय अखण्डता" सुरक्षित गर्न आग्रह गर्दै दक्षिणी लेबनानमा संयुक्त राष्ट्रसङ्घका कर्मचारीहरूमाथि इजरायली आक्रमणको आलोचना पनि गरेको छ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले युद्धविरामको लागि आफ्नो आह्वान दोहोर्याउँदै प्यालेस्टिनी मुद्दाको दीर्घकालीन, न्यायोचित समाधानका लागि प्रयास गर्नुपर्ने बताए। उनले भने, “हामीले हत्या रोक्नुपर्छ र प्यालेस्टिनी मुद्दाको व्यापक, न्यायपूर्ण र दीर्घकालीन समाधानका लागि अथक प्रयास गर्नुपर्छ।”
ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले पनि मध्यपूर्व र युक्रेन दुवै क्षेत्रमा तनाव बढ्न नदिन जोड दिए। उनले भने, "हामीले विश्वव्यापी हुनसक्ने दुई युद्धको सामना गरिरहेका छौँ, साझा लक्ष्यहरूका लागि एकसाथ काम गर्ने हाम्रो क्षमता पुनःस्थापित गर्न आवश्यक छ।"
पुटिनले मध्यस्थताका प्रस्तावहरूलाई स्वागत गरे
युरोपेली सङ्घ (इयु) ले ब्रिक्स सदस्यहरू लाई पुटिन माथि युक्रेन माथिको आक्रमण तत्काल रोक्न दबाब दिन आग्रह गरेको थियो। यस सन्दर्भमा पुटिनले द्विपक्षीय वार्तामा केही ब्रिक्स नेताहरूबाट आएका मध्यस्थताका प्रस्तावहरू लाई स्वागत गरेको बताए। यद्यपि, उनले आफ्ना सेनाहरू युद्धक्षेत्रमा अघि बढिरहेको जानकारी पनि दिए।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पुटिनले बैठकहरूमा रुसी सशस्त्र बलहरूको "धेरै सकारात्मक गतिशीलता" को प्रचार गरेको बताएका छन्। हालैका महिनाहरूमा रुसी सेनाहरू पूर्वी युक्रेनमा बिस्तारै अघि बढिरहेका छन्, तर कुनै पनि पक्षले निर्णायक सफलता हासिल गर्न सकेको छैन।
चिनियाँ राष्ट्रपति सी जिनपिङले पनि शिखर सम्मेलनमा युक्रेनमा "लडाइँ बढ्न नहुने" बताउँदै शान्तिको आह्वान गरे। उनले भने, “स्थिति जति सक्दो चाँडो शान्त होस् भनेर हामीले युद्धक्षेत्रबाट फैलिन नदिने, लडाइँ नबढ्ने र सम्बन्धित पक्षहरूले आगोमा घिउ नथप्ने काम गर्नुपर्छ।”
शान्ति वार्ता र बहुध्रुवीय व्यवस्था
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि द्वन्द्व अन्त्यका लागि कूटनीतिक प्रयासको पक्षमा बोल्दै भने, "हामी युद्ध होइन, संवाद र कूटनीतिको समर्थन गर्छौँ।" ब्राजिलका लुलाले मस्को र किएभबीच शान्ति वार्ता सुरु गर्नु "महत्त्वपूर्ण" भएको बताए।
सी र मोदी दुवैले युक्रेनका लागि आफ्नै शान्ति पहलहरूको प्रचार गरिसकेका छन्, तर ती प्रयासहरूमा उल्लेखनीय प्रगति भएको छैन। पुटिनले भने युद्धविराम वार्ताको पूर्वशर्तका रूपमा युक्रेनलाई पूर्व र दक्षिणमा थप भूभाग छोड्नुपर्ने माग गरेका छन्, जुन किएभले अस्वीकार गरेको छन्। युक्रेनी सेनाले हालै रुसी भूभागको केही भाग कब्जा गरेको छ, तर कुनै निर्णायक विजय हासिल भएको छैन।
आफूलाई सम्भावित शान्ति दूतका रूपमा प्रस्तुत गर्दै टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले पुटिनसँग भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पनि पुटिनसँग भेट गर्ने तयारी गरिरहेका छन्।
ब्रिक्सको भूमिकाः बहुध्रुवीय विश्व व्यवस्थाको निर्माण
मस्कोले ब्रिक्सलाई पश्चिमी नेतृत्वको अन्तर्राष्ट्रिय सङ्गठनहरूको विकल्पका रूपमा हेरिरहेको छ। ब्रिक्स समूहले विश्व मञ्चमा दक्षिणी गोलार्धलाई ठूलो भूमिका दिनुपर्ने र अन्तर्राष्ट्रिय निर्णय–निर्माण प्रक्रियामा गहिरो एकीकरण गर्न आह्वान गरेको छ।
पुटिनले आफ्नो उद्घाटन भाषणमा भने, “बहुध्रुवीय विश्व व्यवस्था निर्माणको प्रक्रिया जारी छ, यो एक गतिशील र अपरिवर्तनीय प्रक्रिया हो।”
शिखर सम्मेलनका क्रममा सी र मोदीले दुई देशको विवादित सीमाको बारेमा सम्झौता गरेको केही दिन पछि पाँच वर्षपछि पहिलो औपचारिक बैठक गरेका थिए। सीले दुवै देशका सम्बन्ध सुधार्ने प्रयासका रूपमा "सञ्चार र सहयोग बलियो बनाउनु" दुवै मुलुकको "मौलिक हित" भएको बताएका छन् ।
(AFP Inputs)



तपाईको प्रतिक्रिया दिनुहोस