जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ

काठमाडौं, ७ कात्तिक – काठमाडौं महानगरपालिका-१३ ताहाचलमा रहेको सुरज महर्जनको घरमा जुवातास खेलिरहेको अवस्थामा सुरज सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ।
मंगलबार राति प्रहरी वृत्त कालिमाटी बाट खटिएको टोलीले उनीहरूलाई नगद १ लाख ५४ हजार ९८० रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो।
त्यस्तै, उदयपुरको चौदण्डीगढी नगरपालिका-६ बेल्टार बजारस्थित प्रवत गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रवत सहित ४ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई १ लाख रुपैयाँ र ३३ बुक ताससहित प्रहरीले नियन्त्रणमा लिएको छ।
बाँकेको नेपालगंज उपमहानगरपालिका-४ सल्यानी बङ्गलास्थित जगदिश गुप्ताको घरमा जुवातास खेलिरहेको अवस्थामा हरसिद्ध रस्तोगी सहित ७ जनालाई पनि पक्राउ गरिएको छ। प्रहरी टोलीले उनीहरूबाट ६७ हजार ६२५ रुपैयाँ र १ बुक तास बरामद गरेको नेपाल प्रहरी केन्द्रिय कार्यालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस