बार्सिलोनामा भारी वर्षाले रेल सेवा अवरुद्ध, भ्यालेन्सियामा बाढी पीडितहरूको खोजी जारी
पूर्वी स्पेनमा गत हप्ता आएको बाढीले भ्यालेन्सिया नजिक दुई सयभन्दा बढी मानिसको ज्यान लिएको छ। निरन्तर आइरहेको आँधीका कारण सोमबार बार्सिलोनामा भारी वर्षा भएकोले स्थानीय अधिकारीहरूले यात्रु रेल सेवाहरू स्थगित गर्न विवश भएका छन्।
स्पेनी यातायातमन्त्री ओस्कार पुएन्टेले नागरिक सुरक्षा अधिकारीहरूको अनुरोधमा उत्तरपूर्वी क्याटालोनियाको ८० लाख जनसङ्ख्याका क्षेत्रमा सबै यात्रु रेलहरूको सेवा रोकिएको जानकारी दिएका छन्। बार्सिलोनाका मोबाइल फोनहरूमा शहरको दक्षिणी सीमामा 'अत्यधिक र निरन्तर वर्षा' को चेतावनी आएको थियो, जसमा मानिसहरूलाई सामान्यतया सुक्खा खोँच वा नहरहरूबाट टाढा रहन आग्रह गरिएको छ।
पुएन्टेले भनेका छन् कि वर्षाका कारण हवाई यातायात नियन्त्रकहरूले बार्सिलोनाको विमानस्थलमा सञ्चालन भइरहेका १५ उडानको मार्ग परिवर्तन गर्नुपरेको छ। बाढीका कारण धेरै राजमार्गहरू पनि बन्द गरिएका छन्।
साथै, बार्सिलोना र भ्यालेन्सियाको बीचमा पर्ने दक्षिणी क्याटालोनियाको टारागोना शहरमा वर्षाको रातो चेतावनी जारी गरिएपछि कक्षाहरू रद्द गरिएका छन्।
भ्यालेन्सियामा, बाढीका कारण घरभित्र र हजारौँ क्षतिग्रस्त कारभित्र शवहरूको खोजी जारी छ। गत हप्ताको बाढीले बस्ती भएका क्षेत्रहरूमा पुग्दा कारहरू सडक, राजमार्ग र नहरहरूमा छरिएका छन्।
यो आपतकालीन अवस्थामा नागरिक, स्वयंसेवक, हजारौँ सैनिक र प्रहरी अधिकारीहरूले हिलो र भग्नावशेष सफा गर्ने विशाल अभियानमा सहयोग गरिरहेका छन्। अधिकारीहरूले पीडितहरूको उद्धार र क्षति निवारणका लागि आवश्यक सबै उपायहरू गर्न प्रतिबद्धता जनाएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस