हसिना शासनकालमा अपहरण गरिएका दुई सय बङ्गलादेशी अझै बेपत्ता
बङ्लादेशको अपदस्थ प्रधानमन्त्री शेख हसिनाको शासनकालमा करिब २०० जना नागरिक सेनाद्वारा अपहरण भई हालसम्म बेपत्ता रहेका छन्। जबरजस्ती बेपत्ता भएका घटनाहरूको अनुसन्धान गरिरहेको आयोगका सदस्य नूर खानले मङ्गलबार यो तथ्य सार्वजनिक गरेका हुन् ।
गत अगस्टमा विद्यार्थी नेतृत्वमा भएको विद्रोही प्रदर्शनपछि हसिना छिमेकी देश भारततर्फ हेलिकप्टरबाट भागेकि थिइन् । उनिमाथि मानव अधिकार उल्लङ्घन, गैरकानुनी अपहरण र नागरिकलाई बेपत्ता पार्ने आरोपहरू लागेका थिए।
वर्तमान कार्यवाहक सरकारले गठन गरेको अनुसन्धान आयोगले हसिनाको निष्कासनपछि पाँच जनालाई गोप्य हिरासत केन्द्रबाट रिहा गरिएको जानकारी दिएको छ। तर बाँकी बेपत्ता व्यक्तिहरूको अवस्थाबारे हालसम्म कुनै प्रष्ट विवरण प्राप्त नभएको आयोगले बताएको छ।
आयोगका अध्यक्ष मोइनुल इस्लाम चौधरीले सरकारले न्यायपालिका सँगको संस्थागत समन्वयलाई बेवास्ता गरेको र हसिनाको नेतृत्वमा दण्डहीनताको वातावरण फस्टाएको आरोप लगाएका छन्।
हसिनाले कानूनी निकायहरूलाई सार्वजनिक हितभन्दा पनि व्यक्तिगत र राजनीतिक फाइदाका लागि दुरुपयोग गरेको आरोप लागेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस