Techie IT
२०८२ भाद्र २४, मंगलबार

अन्तर्राष्ट्रिय क्रसकन्ट्री दौड : समूहगतमा नेपाली र व्यक्तिगत स्पर्धामा चिनियाँ खेलाडी च्याम्पियन


नेपाल र चीनका खेलाडीबीच पोखरामा सम्पन्न तेस्रो अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौडमा समूहगत स्पर्धामा नेपाली टोली च्याम्पियन बनेका छन्, भने व्यक्तिगत स्पर्धामा पुरुष र महिलातर्फ चिनियाँ खेलाडीले उपाधि जितेका छन्।

समूहगत स्पर्धामा नेपालका सुशीलकुमार शाही, सिर्जना पौडेल र श्रीकाश राई सम्मिलित टोलीले रनिङ, साइक्लिङ, र रोइङसहितको ५० किमी दूरी ४ घण्टा २० मिनेट १४ सेकेण्डमा पार गरी उपाधि हात पारे। नेपाली सेनाका करन रावत, नरेन्द्र सिंह रावत र निर्मला राईको टोली दोस्रो स्थानमा रहँदै ४ घण्टा २२ मिनेट २९ सेकेण्डमा दूरी पूरा गरेका थिए । 

तेस्रो स्थानमा सशस्त्र प्रहरी बलका लक्ष्मण मल्ल, निरज भट्ट र पुष्पा भण्डारीको टोली रह्यो, जसले ४ घण्टा २३ मिनेट आठ सेकेण्डमा दौड समाप्त गर्यो।

समूहगत स्पर्धाको विजेता टोलीले रु चार लाख ५८ हजार चार सय, उपविजेताले रु तीन लाख ४३ हजार आठ सय र तृतीय टोलीले रु दुई लाख २९ हजार दुई सय पुरस्कार प्राप्त गरेका छन् ।

व्यक्तिगत स्पर्धामा पुरुषतर्फ चीनका एङ ज्याङ जेनले ५० किमी दौड ३ घण्टा ४४ मिनेट १२ सेकेण्डमा पार गरी पहिलो स्थान प्राप्त गरे। नेपालका कुलबहादुर बस्नेतले तीन घण्टा ४८ मिनेट दुई सेकेण्डमा दूरी पार गरी दोस्रो स्थानमा रहे। तेस्रो स्थानमा नेपालकै होमलाल श्रेष्ठले ३ घण्टा ५३ मिनेट ३३ सेकेण्डमा दौड पूरा गरेका थिए ।

महिलातर्फ चीनकी झेङ वाङ रोङले ४ घण्टा १४ मिनेट ४८ सेकेण्डमा दौड पूरा गर्दै उपाधि जितिन्। नेपाली धाविका कल्पना बुढा उपविजेता बनेकी छन्। उनले निर्धारित दूरी ४ घण्टा ५० मिनेटमा पार गरिन्। नेपाल प्रहरीकी राम माया बुढाले ५ घण्टा आठ मिनेट १८ सेकेण्डमा दौड पूरा गरी तेस्रो स्थान हासिल गरिन्।

व्यक्तिगत स्पर्धामा विजेताले रु एक लाख ५२ हजार आठ सय, उपविजेताले रु एक लाख १४ हजार छ सय, र तेस्रो हुनेले रु ७६ हजार चार सयका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगिता नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका र काठमाडौँस्थित चिनियाँ राजदूतावासको संयुक्त आयोजनामा तथा हिमालयन टुरिजम फोरमको व्यवस्थापनमा सम्पन्न भएको हो। 

यस प्रतियोगितामा टिम इभेन्टतर्फ नेपालका १९ र चीनका चार समूहले तथा व्यक्तिगत स्पर्धामा नेपाली महिला र पुरुष ८७ र चिनियाँ २९ खेलाडीले सहभागिता जनाएका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट