इरानद्वारा अमेरिकी ‘लुकास’ ड्रोन खसालेको दाबी
इरानी सेनाले आफ्नो दक्षिणी बन्दरगाह सहर बन्दर अब्बास तथा जास्क क्षेत्रको आकाशमा एक अमेरिकी ‘लुकास’ (LUCAS) ड्रोन खसालेको दाबी गरेको छ।
इरानको सरकारी समाचार संस्था आईआरएनए (IRNA) का अनुसार इरानी एयर डिफेन्स प्रणालीअन्तर्गत कार्यरत एक युनिटले आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको उक्त अमेरिकी ड्रोनलाई लक्षित गरी नष्ट गरेको हो। तर, उक्त घटना कुन समयमा भएको हो र ड्रोन कुन सैन्य मिसनमा परिचालन गरिएको थियो भन्नेबारे रिपोर्टमा स्पष्ट पारिएको छैन।
यसैगरी, इरानी सेनासँग सम्बद्ध दीफा न्युज एजेन्सी ले पनि बन्दर अब्बास क्षेत्रमा ड्रोनलाई निशाना बनाइएको पुष्टि गरेको छ। अर्कोतर्फ, इरानकै मेहर न्युज एजेन्सीले सेनाको जनसम्पर्क विभागलाई उद्धृत गर्दै अक्टोबर २५ को बिहान होर्मुजगान प्रान्तकै जास्क क्षेत्रमा अर्को वा सोही ‘लुकास’ ड्रोन खसालिएको जनाएको छ।
के हो ‘लुकास’ ड्रोन?
अमेरिकी सेन्ट्रल कमान्ड (CENTCOM) ले डिसेम्बर २०२५ मा मध्यपूर्वमा आफ्ना सेनाका लागि पहिलोपटक ‘वान-वे अट्याक ड्रोन’ (One-way attack drone) स्क्वाड्रन गठन गरेको घोषणा गरेको थियो, जुन ‘लुकास’ ड्रोनहरूद्वारा सुसज्जित छ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार ‘लुकास’ ड्रोन इरानी प्रविधिको ‘साहेद’ (Shahed) ड्रोनकै शैली र मोडलमा विकास गरिएको हो। कम लागतमा बन्ने यो आत्मघाती ड्रोनको प्रतियुनिट मूल्य करिब ३५ हजार अमेरिकी डलर पर्दछ।
यस घटनाबारे अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) वा सेन्टकमको तर्फबाट भने हालसम्म कुनै आधिकारिक प्रतिक्रिया आइसकेको छैन।



तपाईको प्रतिक्रिया दिनुहोस