"रवि लामिछानेको सहकारी काण्ड: टोयोटा गाडी र ६७ करोडको हेरा-फेरी"

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीबाट बचत अपचलन गरी गाडी खरिद गरेको पुष्टि भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेमाथि अनुसन्धान तीव्र भएको छ।
सवा दुई करोड मूल्यको टोयोटा फर्च्युनर गाडी खरिदका लागि स्वर्णलक्ष्मी सहकारीको रकम प्रयोग भएको प्रमाण फेला परेको छ। लामिछानेले गाडी खरिदसहित अन्य प्रयोजनका लागि सहकारीबाट लिएको ९३ लाख ६ हजार ६६० रुपैयाँ भुक्तानी गर्न १५ वटा चेक काटेका थिए। सहकारी अपचलनबाट ल्याइएको रकम गोर्खा मिडिया नेटवर्कको खातामा राखेर दुरुपयोग गरिएको प्रहरीको अनुसन्धानले देखाएको छ।
स्वर्णलक्ष्मीसहित पाँच सहकारीका ६७ करोड ७६ लाख रुपैयाँ गोर्खा मिडियामा अपचलन भएको पुष्टि भइसकेको छ। यस प्रकरणमा सहकारीका अध्यक्ष जीबी राई फरार रहेका छन् भने प्रहरीले उनीविरुद्ध इन्टरपोलमार्फत रेड नोटिस जारी गरेको छ। सहकारी ठगीमा संलग्न अन्य व्यक्तिहरूलाई पनि बयानका लागि बोलाइएको छ।
स्वर्णलक्ष्मी सहकारीका ६४५ जना बचतकर्ताले रकम अपचलनको जाहेरी दिएपछि प्रहरीले अनुसन्धान थालेको हो। सहकारीमा जम्मा गरिएको २ अर्ब ६५ करोड ९५ लाख रुपैयाँ मध्ये १ अर्ब ११ करोड रुपैयाँ अपचलन भएको प्रारम्भिक निष्कर्ष छ।
हाल रवि लामिछानेसँग जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान लिइँदै छ। यसअघि उनलाई पोखरा र भैरहवा ल्याई बयान गराइएको थियो। यो प्रकरणमा पूर्वडीआईजी छविलाल जोशी र स्वर्णलक्ष्मी सहकारीका कोषाध्यक्ष कुमार रम्तेलमाथि पनि अनुसन्धान भइरहेको छ।
प्रहरीले सहकारी अपचलनका घटनामा संलग्न सबैलाई कारबाही गर्न अनुसन्धान जारी राखेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस