यू–१९ एसिया कपमा नेपाल श्रीलंकासँग ५५ रनले पराजित

यूएईमा सुरु भएको एसीसी यू–१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल श्रीलंकासँग ५५ रनले पराजित भएको छ। शुक्रबार शारजहाँ क्रिकेट रंगशालामा भएको खेलमा नेपालले बलिङमा राम्रो पुनरागमन गरे पनि ब्याटिङमा उल्लेख्य प्रदर्शन गर्न सकेन।
श्रीलंकाको बलियो सुरुआत
नेपालले टस जितेर बलिङ रोजेपछि श्रीलंकाले ५० ओभरमा २३३ रनको चुनौती प्रस्तुत गर्यो। श्रीलंकाका ओपनर सारुजान सानमुगानाथनले ६२ रनको उत्कृष्ट इनिङ्स खेले। उनलाई लकभिन अवेयसिंघेले ५० र काविजा गामागेले ३७ रनको साथ दिए। नेपाली बलर सन्तोष यादवले १० ओभरमा ४५ रन खर्चेर ४ विकेट लिए। युवराज खत्रीले २ तथा हेमन्त धामी र नरेन साउदले १–१ विकेट लिएका थिए ।
नेपालको कमजोर ब्याटिङ
जवाफमा नेपालले ४६.२ ओभरमा १७८ रनमै अलआउट भयो। ओपनर मयन यादवले ६२ रन बनाए पनि अन्य ब्याटरले ठोस योगदान दिन सकेनन्। आकाश त्रिपाठीले १९, अर्जुन कुमालले १२, नरेन भट्टले १२, र उत्तम थापामगरले १७ रन बनाए। श्रीलंकाका प्रवीण मनीषले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएका थिए ।
नेपाल समावेश समूह ‘बी’ मा बंगलादेशले आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई ४५ रनले हराएको छ। नेपालले अब आइतबार बंगलादेशसँग खेल्दै प्रतियोगितामा पुनरागमन गर्ने प्रयास गर्नेछ।
तपाईको प्रतिक्रिया दिनुहोस