३२ नाघेका विद्यार्थीमाथि उमेरहदको अंकुश लगाउँदै अखिल क्रान्तिकारी
काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारी उमेरहद लगाउने वा नलाउने सम्बन्धमा निर्वाचन हुने भएको छ ।
नेतृत्वकाका लागि पदाधिकारी मात्र उम्मेदवार बन्न पाउने प्रावधानलाई संशोधन गर्दै ३२ वर्षे उमेरहद लगाउने वा खुला गर्ने भन्ने विवादको सामाधान गर्न शनिबार निर्वाचन हुने भएको हो ।
आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार पहिलो चरणको मतदान शनिबार बिहान १० बजेदेखि ४ बजेसम्म हुनेछ । मतदान केन्द्र भूगोल र गैर भूगोल गरी ८६ स्थानमा राखिएको इन्चार्ज हिमाल शर्माले जानकारी दिए ।
शर्माका अनुसार आठ वटा प्रदेश कार्यालय र २ वटा विश्वविद्यालय कमान्डबाट चयन भएका प्रतिनिधिहरूले तोकिएको मतदान केन्द्रमा मतदान गर्न पाउने छन् । यदि ३२ वर्षे उमेरहद अनुमोदन भएमा नेतृत्वका दाबेदार निवर्तमान अधिकांश पदाधिकारी बाहिरिनेछन् ।
नेतृत्व छनोटका लागि पुस १७ गते बिहान ११ बजेदेखि ४ बजेसम्म मतदान हुँदै छ । त्यसका लागि १५ गते केन्द्रीय पदाधिकारी तथा सदस्यको उम्मेदवारी मनोनयन दर्ता, १६ गते उम्मेदवारी उपर दाबी विरोध, उम्मेदवारी फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने निर्वाचन आयोगले जानकारी दिएको छ ।
यसको जानकारी क्रान्तिकारीको आधिकारिक फेसबुक र वेबसाइटबाट दिइने छ । आयोगका अनुसार भूगोल र गैर भूगोल गरी ९ प्रदेश स्तरीय मतदान केन्द्र रहनेछन् ।
उमेर हदबन्दीको विवाद हुँदा असोज १० देखि १५ गतेसम्म कीर्तिपुरमा भएको क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलन स्थगित भएको थियो । दोस्रो पटक मंसिर २३ र २४ मा हुने भनिएको सम्मेलन पनि उमेरहदमा सहमति नजुटेपछि स्थगित भएको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस