मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार: चार जना दोषी, दस जना सफाइ

मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारको मुद्दामा विशेष अदालतले चार जनालाई दोषी ठहर गरेको छ भने दस जनालाई सफाइ दिएको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले यो निर्णय गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ फागुन, २०८० मा १५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। आरोपितमा तीन पूर्वसचिव र विभिन्न परामर्शदाता तथा निर्माण कम्पनीका प्रतिनिधिहरू समावेश थिए। अदालतले तत्कालीन सचिव गजेन्द्र ठाकुर, कार्यकारी निर्देशक रामचन्द्र देवकोटा, सूर्यराज कँडेल र परामर्शदाता इप्टिसाका टिम लिडर शिवकुमार शर्मालाई दोषी ठहर गरेको छ। ठाकुर र कँडेलसँग १० करोड १० लाख रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ भने देवकोटा र शर्मा सँग २ करोड ९५ लाख रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ।
इटालियन निर्माण कम्पनी सीएमसीलाई पनि भ्रष्टाचारमा संलग्न ठहर गर्दै अदालतले सजाय र जरिवानाका लागि अर्को पेशी तोक्ने आदेश दिएको छ।
दोस्रो पक्षमा, मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड अध्यक्षहरु डा. सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय, मुकुन्द प्रसाद पौडेल, र अन्य नौ व्यक्तिहरूलाई सफाइ दिइएको छ। अख्तियारले उनीहरूमाथि करिब ८९ करोड ८ लाख रुपैयाँ राज्यकोषमा नोक्सानी गरेको आरोप लगाएको थियो। अदालतले कतिपय व्यक्तिहरूको निर्णय प्रक्रियामा संलग्नता नदेखिएको ठहर गर्दै सफाइ दिएको हो।
तपाईको प्रतिक्रिया दिनुहोस