रवि लामिछानेद्वारा प्रधानमन्त्रीसँग असन्तुष्टि व्यक्त
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मंगलबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्दै पछिल्ला राजनीतिक घटनाक्रमबारे असन्तोष व्यक्त गरेका छन्। विशेष गरी उपसभामुख इन्दिरा रानामगरको राजीनामा माग्दै भइरहेको दबाब र पोखरामा आफूमाथि भएको विरोधलाई लिएर लामिछाने असन्तुष्ट देखिएका हुन्।
उपसभामुख रानाले संसदको लेटरप्याड दुरुपयोग गर्दै अमेरिकी दूतावासलाई अनधिकृत चिठी लेखेको घटनाले चर्चा पाएको छ। यस प्रकरणमा रानाले केही व्यक्तिलाई अमेरिका पठाउन प्रयास गरेको र यसक्रममा पैसाको लेनदेन भएको कुरा पनि बाहिर आएको छ। यस विषयमा संसदमा सांसदहरूले निरन्तर चासो देखाउँदै आएका छन्, जसप्रति लामिछानेले असहमति जनाएका छन्।
लामिछानेले प्रधानमन्त्रीलाई भेटेर यो प्रकरणलाई राजनीतिक प्रतिशोधका रूपमा लिइएको बताएका छन्। प्रधानमन्त्री ओलीले भने संसदमा जनप्रतिनिधिले राख्ने विषयलाई व्यक्तिगत रुपमा नलिन लामिछानेलाई आग्रह गरेका छन्।
पोखरामा आफूमाथि भइरहेको विरोधका सन्दर्भमा पनि लामिछानेले आफ्नो असन्तोष व्यक्त गर्दै, विगतमा सूर्यदर्शन सहकारीसँग जोडेर खोया प्रहार भएको र हाल कालो झन्डा देखाइएको घटनाहरूको उल्लेख गरेका थिए। यस्ता गतिविधिले आफूलाई विचलित गर्न नसक्ने र यसले सत्तापक्षलाई फाइदा नहुने चेतावनी दिएका छन्।
लामिछानेले ठूला दलहरूलाई व्यक्तिगत पूर्वाग्रह राखेर प्रतिस्पर्धा नगर्न र राजनीतिक एजेन्डामा मात्र केन्द्रित हुन आग्रह गरेका छन्।
#Rabilamichhane



तपाईको प्रतिक्रिया दिनुहोस