दसैँको लागि अग्रिम टिकट बुकिङ असोज पहिलो सातादेखि खुल्ने
आगामी दसैँ पर्वका लागि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ असोजको पहिलो सातादेखि खुलाइने भएको छ। यातायात व्यवसायी राष्ट्रिय महासंघका सल्लाहकार सुरेश हमालका अनुसार, दसैँमा यात्राको चापलाई मध्यनजर गर्दै असोजको पहिलो सातादेखि टिकट बुकिङ खुला गर्ने तयारी गरिएको छ।
हमालले भने, "सामान्यतया १५ दिनअघि बुकिङ खुलाउने प्रचलन छ। यसबारे एक चरणको छलफल भइसकेको छ र असोजको पहिलो हप्तादेखि बुकिङ खोल्ने तयारी भएको छ।"
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले पनि घटस्थापनाको एक हप्ता अघि बुकिङ खुलाउने योजना रहेको बताएका छन्। तर, अहिले सडकहरूको अवस्था राम्रो नभएकाले सडक मर्मतको कामलाई तीव्र बनाउन मातहतका निकायलाई घच्घच्याइएको रिजालले जानकारी दिए।
यसैबीच, केही यातायात व्यवसायीहरूले अनलाइनबाट अग्रिम टिकट बुकिङ सुरु गरिसकेका छन्। तर, अनलाइन बुकिङमा फेक नाम प्रयोग गरी टिकट ब्ल्याकमा बेच्ने प्रवृत्ति बढ्न सक्ने भएकाले यसबारे समन्वय गर्दै समस्या समाधान गर्न प्रयास भइरहेको रिजालले बताए।



तपाईको प्रतिक्रिया दिनुहोस